सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाले संघीय निजामती सेवा विधेयकमा 'कुलिङ पिरियड' मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप भएको छ।
समिति सभापति जीवन परियारले कुलिङ पिरियडमा भएको त्रुटिमा अनुसन्धान गर्न समय अपुग भएकाले समय थप गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए। सभामुख घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पास गरेको छ।
समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको म्याद दिएको थियो। कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा २३ असारमा समिति गठन गरिएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिदैछ। संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।
समितिमा कांग्रेसकी सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।
राज्य व्यवस्था समितिबाट निजामति कर्मचारीहरू अवकासमा गएपछि वा राजीनामा दिएपछि अर्को स्थानमा नियुक्ति खान दुई वर्षे कुलिङ पिरियडको प्रावधान राखेको थियो। सोही व्यवस्थाअनुसार असार १५ गते प्रतिनिधिसभा बैठकमा उक्त विधेयक पारित भएको थियो। तर,त्यसलाई खण्डित गर्ने अर्को दफासमेत समावेश गरेको भेटिएपछि विवाद सुरू भएको थियो।