सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका मन्त्रीहरूले आफ्नो राजीनामा खल्तीमा राखेर बस्नुपर्ने बताएका छन्।
बिपी स्मृति दिवसका अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले वर्तमान गठबन्धन सरकारमा नेकपा (एमाले) सँग सहकार्य भए पनि कांग्रेसका आधारभूत मूल्यमान्यतासँग सम्झौता गर्नुपर्ने अवस्था आएमा एक मिनेट पनि ढिलो नगरी सरकारबाट बाहिरिनुपर्ने बताएका हुन्।
उनले भने, ‘हाम्रा आधारभूत कुराहरूसँग, न्यूनतम मूल्यमान्यता जे छ त्यससँग सम्झौता गर्नुपर्ने अवस्था आयो भने एक मिनेट पनि नसोची तिम्रो सरकार तिमीलाई मुवारक, हामी आफ्नो बाटो हिँडौँ भनेर भन्छु म, त्यो हिम्मत बोकेर बस्नुपर्छ।’
उनले कांग्रेसका मन्त्रीहरूले कुनै गलत काम गर्नुपर्ने अवस्था आएमा तत्काल राजीनामा प्रधानमन्त्रीको टेबलमा फालिदिने हिम्मत राख्नुपर्ने बताए।
‘कांग्रेसका मन्त्रीहरूले खल्तीमा राजीनामा बोकेर बस्नुपर्छ, मैले गलत काम गर्नुपर्यो भने त्यही बेलामा पड्काइदिन्छु म प्रधानमन्त्रीको टेबुलमा भन्ने हिम्मत गर्नुपर्छ,’ थापाले भने।
महामन्त्री थापाले पार्टी सभापतिलाई समेत आधारभूत मूल्यमान्यतामा सम्झौता गर्नुपर्ने अवस्था आएमा सरकार त्याग्न तयार रहन आग्रह गरे।
थापाले चुनावको चिन्तालाई ‘लोभी हुनु’को सङ्ज्ञा दिँदै सत्यको पक्षमा उभिन कुनै डर मान्न नहुने बताए।
उनले भने, ‘चुनावको चिन्ता भनेको लोभी हुनु हो, लोभी भए धेरै कुरा गर्न सकिन्न, डराइन्छ, के को डर? सत्यको पक्षमा उभिने हो। त्यो हिम्मत कांग्रेसका प्रत्येक साथीले राख्नुपर्छ, हामीसँग योजना र सङ्कल्प छ। घरको फोहोर पनि सफा गरौँ।’