उल्फाको धनमा फुपुको श्राद्ध, १ हजार ७६३ कर्मचारीले गरे विदेशमा मस्ती 

सोमबार, साउन ५, २०८२

उल्फाको धन फुपुको श्राद्ध भन्या झैं गरि राज्यकोषमा कर्मचारीले विदेश सयर गरेर करोडौ रुपैया उडाएको हिसाब निकालिएको छ। धेरैजसो सरकारी कर्मचारीहरू जानै नपर्ने कार्यक्रममा राज्यकोषको दुरुपयोग गर्दै विदेश डुल्ने क्रम बढेपछि राज्यको दोहन भएको हो। 

२०८१ साउन १ गतदेखि २०८२ असार मसान्तसम्मको अवधिमा १ हजार ७६३ जना सरकारी कर्मचारीहरू विदेश भ्रमणमा गएको सरकारी तथ्याङ्कले देखाएको छ।  महत्वपूर्ण कार्यक्रममा सहभागी हुन जानु त स्वाभाविक नै हो। तर, अनावश्यक कार्यक्रममा सरकारी पैसा खर्च गरेर कर्मचारीले उल्फाको धनमा फुपुको श्राद्ध गरेका हुन्। 

गत आर्थिक वर्ष २०८१/८२ मा परराष्ट्र मन्त्रालयका २०४ जना कर्मचारीले विदेश भ्रमण गरेका थिए । यसमा विदेशस्थित नेपाली नियोगमा सरुवा भई जाने र विभिन्न उच्चस्तरीय भ्रमणमा सहभागी हुने परराष्ट्रका कर्मचारीलाई जोडिएको छ । 

गत आर्थिक वर्ष रक्षा मन्त्रालय र मातहतका निकायका १६२ जना कर्मचारीले विदेश भ्रमण गरेका थिए । गृह मन्त्रालयका १३० जना कर्मचारी पनि विदेश भ्रमणमा गए । गत आर्थिक वर्ष अर्थ मन्त्रालयका ११९ जना कर्मचारीले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालय स्रोतले उपलब्ध गरेको तथ्याङ्कले देखाउँछ । 

गत वर्ष नै वन तथा वातावरण मन्त्रालयका ९३ जना कर्मचारी विदेश पुगेका थिए । त्यही समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ३८ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ४३ जना, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका २० र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ३१ जना कर्मचारीले विदेश भ्रमण गरेका थिए । 

यस्तै, गत आर्थिक वर्ष खानेपानी मन्त्रालयका ८, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका २४, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका ३४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका १६ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका २५ जना कर्मचारीले विदेश भ्रमण गरेका थिए ।

गत वर्ष विदेश भ्रमण गर्नेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १७, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ६२, सहरी विकास मन्त्रालयका २१, युवा तथा खेलकुद मन्त्रालयका ७, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका १५, वन तथा वातावरण मन्त्रालयका ९३, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २० र विभिन्न आयोगमा कार्यरत ४४ जना कर्मचारी रहेका थिए । 

गत आर्थिक वर्ष सात प्रदेशका मन्त्रालय तथा स्थानीय तहमा कार्यरत ५१७ जना कर्मचारीले विदेश भ्रमण गएको देखिन्छ। 

चालु आर्थिक वर्षमा सरकारी कर्मचारीले दक्षिण कोरिया, माल्दिभ्स, भुटान, स्वीट्जरल्याण्ड, जापान, थाइल्याण्ड, भारत, सिंगापुर, बंगलादेश, अष्ट्रिया, मलेसिया, बेल्जियम, जोर्डन, श्रीलंका, भियतनाम, बेलायत, इजिप्ट, क्यानडा,फिलिपिन्स, इन्डोनेसिया, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका, चीन, साउदी अरबलगायत तीन दर्जन जति देशमा भ्रमण गरेका छन् । 

सरकारले कर्मचारीको मनमौजी विदेश भ्रमण रोक्न पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको छैन । सरकारले पटक–पटक गरेका निर्णयलाई लत्याउँदै कर्मचारी विदेश भ्रमणमा निस्कने गरेका छन् । 

२०८१ मंसिर महिनामा मुख्यसचिवको अध्यक्षतामा बसेको सचिव बैठकले पदाधिकारी र सरकारी कर्मचारीको कूटनीतिक भेटघाट तथा विदेश भ्रमणमा कडाई गर्ने निर्णय गरेको थियो ।

सरकारी कर्मचारीले अनेक किसिमका बहानामा राज्यकोषको दुरुपयोग गर्दै विदेश भ्रमण गर्ने क्रम बढेपछि नियन्त्रण गर्न सचिव बैठकले कडाई गर्ने निर्णय गरेको थियो ।

यस्ता निर्णय सरकारले पटक–पटक गर्दै आएको छ, तर कर्मचारीले टेर्ने गरेका छैनन् । २०७९ फागुन ३० गते बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक अवस्थामा बाहेक सरकारी कर्मचारीले विदेश भ्रमण नगर्ने निर्णय गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्