‘वान टु वान’ वार्तामा ओली र भण्डारीले यसरी माझेछन् मन

आइतबार, साउन ४, २०८२

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको ‘वान टु वान’ वार्ताका क्रममा दुई नेताहरूबीच एकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो । 

छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने उल्लेख गरे । दुई नेताहरूले आज आफूलाई लागेका कुराहरू खुलेर राखेको र अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको बताए । "अहिलेका राष्ट्रिय राजनीतिका विकसित घटनाक्रमका बारेमा दुवै नेताहरूको बीचमा खुलेर एकले अर्कालाई लागेका कुरा राख्नुभएको छ," उनले भने । 

अब पार्टीमा हुने गतिविधिहरू सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको जनाए । "अब कुनै पनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि जानसक्ने परिस्थिति बन्दैन । हामी जे गर्छौँ सहमति र छलफलबाट नै टुंग्याउँछौँ भन्नुभएको छ," उनले भने । उनले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्