सोसल मिडिया
युनिकोड
सरकार र पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरिरहेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केही दिन यता सबैको ध्यान खिच्ने गरि बाँसुरी बजाउन थालेका छन्।
उनले साता दिन यता पार्टीभित्र र बाहिर छलफल बाक्लो मात्र बनाएका छैनन् अन्य पार्टीको बैठकमा समेत चासोको साथ् सुनिन थालेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग र हालै मात्र नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी विद्यादेवी भण्डारीसँगको कानेखुसी स्वयम् कांग्रेस र एमालेका लागि टाउको दुखाईको विषय बनेको छ।
दुई ठूला दल मिलेर सरकार बने पनि जनतामा आशा जगाउन नसकेको ठहर सहित शेखरको सक्रियता बढेको हो। शेखरले आइतबार मात्रै दुई चरणमा आफूनिकट नेता, मन्त्री र सांसदहरूसँग पनि छलफल गरेका थिए।
‘सरकार ट्रयाकबाहिर गइसक्यो। पार्टी त्यस्तै छ। मन्त्रीहरू पार्टी र सरकारलाई बद्नाम गराउने गरी काम गरिरहेका छन्,’ छलफलमा सहभागी एक सांसदले शेखरलाई उदृत गर्दै भने, ‘भिजिट भिसा प्रकरणले कांग्रेसलाई ठूलो क्षति भयो। छानबिनमा पनि पार्टीले कुनै कामकारबाही अघि बढाएन। देशमा सुशासन कायम गर्न अब यसरी भएन। सबै एक ठाउँमा उभिएर दबाब दिन लागौँ।’
आज आफूनिकटसँग छलफल गरेका शेखरले केही दिनभित्रै दलका अन्य सांसदहरूसँग पनि छलफलको तयारी गरिरहेको जानकारी गराएको ती सांसदले बताए।
आजको छलफल दलको नेता परिवर्तनमा केन्द्रित नभएको उनले बताए। उनले भने, ‘संसदीय दलको नेता फेर्नेबारे खासै कुरा भएन। यसलाई वैकल्पिक रणनीतिमा राखिको छ। आज सरकारप्रति जनमानसमा बढेको वितृष्णका विषयमा छलफल भयो।’
नेता फेर्नेबारे बैठकमा शेखरले छलफलमा भनेका थिए, ‘दलको नेता फेर्नेबारे अहिले सोचिहाल्ने बेला भएको छैन। पहिले त सातबुँदे सहमति कार्यान्वयनबारे फेरि ध्यानाकर्षण गराऔँ। हाम्रो पार्टीको संसदीयको नेतृत्व परिवर्तन गर्ने कुरासहितका केही विकल्प त बाँकी नै छन्।’
शेखर बिस्तारै-बिस्तारै पार्टीमा हाबी हुने रणनीतिमा छन्।