लुतो फाल्ने दिनकै छेको पारेर प्रचण्ड-शेखरले ओली सरकारको किन काढे ‘दोहोलो’ ?

बिहीबार, साउन १, २०८२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच दुई घण्टा लामो भेटवार्ता भएको छ । बिहीबार दिउँसो पौने ४ बजे प्रचण्ड निवास खुमलटार पुगेका डा. शेखर साँझ ६ बज्नै लाग्दा त्यहाँबाट बाहिरिएका हुन् । 

प्रचण्डको सचिवालयले दुई नेताबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको र सरकारले विकृति फैलाउने काम गरेको भन्दै चिन्ता जाहेर भएको बताएको छ । “सरकारले एक वर्षमा विकृति घटाउनेभन्दा बढाउने काम गर्‍यो भन्ने साझा बुझाइ दुई नेताका बीचमा रह्यो,” प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले भने, “दुईतिहाइको सरकार सामान्य प्रशासन सञ्चालन गर्न आएको सरकार जत्तिको पनि भएन भन्ने निष्कर्ष रह्यो ।” 

उनले सरकारले गर्ने नियुक्तिदेखि निर्णयसम्म गलत सावित भएको विषयमा पनि नेताहरूबीच कुराकानी भएको जानकारी दिए । “सेवोनमा भएको नियुक्ति देखियो, अन्य ठाउँमा पनि कतै पनि मेरिटमा नियुक्ति हुन सकेको छैन,” आचार्यले बाह्रखरीसँग भने, “सरकारका निर्णयहरू भूमि विधेयकदेखि धेरै विषयमा समस्या छ । यस विषयमा आ–आफ्नो ठाउँमा रहेर आवाज उठाउँदै जाने समझदारी बनेको छ ।”

दुई नेताले लुतो फाल्ने दिनकै छेको पारेर ओली सरकारले राज्यलाई थोपरेको लुतो फालेरै छोड्ने निर्णय गरेका हुन्।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  २१:३४
प्रतिक्रिया दिनुहोस्