सोसल मिडिया
युनिकोड
घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले हिजो अर्थात असार ३० गते नै राजीनामा दिएका थिए । तर, प्रधानमन्त्री केपी ओली र उनको सचिवालय सहित स्वयम् मन्त्री गुप्ताले त्यो सार्वजनिक गरेनन्।
गुप्ता मन्त्री पदमा नियुक्त भएको ठिक एक वर्ष पुगेको दिन मात्र मन्त्रीले दिएको राजीनामा सार्वजनिक गरिएको छ। मन्त्री गुप्ता स्वयंले हिजो बिहान पदबाट राजीनामा दिएको तोकादेशलाई जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले उनलाई सातो खाने गरि हप्काएका थिए।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले गुप्तालाई राजीनामा दिन निर्देशन दिएका थिए । घुस मागेको अडिओ सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका गुप्ताले बर्खास्तमा पर्नु भन्दा पहिल्यै राजीनामा दिएका हुन्।
अडिओ टेप सार्वजनिक भए लगत्तै उनले राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षीय नेपाली कांग्रेसकै सांसदले चर्को बिरोध गरेका थिए। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलले समेत उनको राजीनामा माग गरेको छ। माओवादीले त गुप्ताले नभएर प्रधानमन्त्रीले नै जवाफ दिनु पर्ने माग गरेको थियो ।
दुई दिन झापामा बिताएर आज बिहान मात्र राजधानी आएका ओलीले गुप्तालाई काम्ने गरि थर्काएर राजीनामा दिन भनेका हुन्।
२०८१ असार ३१ गते असार मसान्तकै दिन उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको छ।