सोसल मिडिया
युनिकोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनै पनि गलत काम नगर्ने बताए।
उनले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताए। सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको उनको भनाइ थियो।
उनले भने, ‘मैले गल्ती गर्दिनँ, म जनताको काम गर्न गएको हो। जनताको काम गर्छु, तपाईंहरु ढुक्क हुनुस्। तपाईं हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरुलाई प्रश्न गरौँ।’
यसअघि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको भ्रष्टाचारसम्बन्धी अडियो टेपमा मन्त्री अधिकारीको नामसमेत मुछिएको थियो। मन्त्री गुप्ताले मालपोतको काम गर्न ७८ लाख रुपैयाँको अफर स्वीकार गरेको अडियोमा मन्त्री अधिकारीसमेत मुछिएका हुन्।