सोसल मिडिया
युनिकोड
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिने भएका छन्। घुस मागेको अडिओ सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका गुप्ताले बर्खास्तमा पर्नु भन्दा पहिल्यै राजीनामा दिने भएका हुन्।
अडिओ टेप सार्वजनिक भए लगत्तै उनले राजीनामा दिनुपर्ने भन्दै सत्तापक्षीय नेपाली कांग्रेसकै सांसदले भनेका छन्। यस्तै, प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलले समेत उनको राजीनामा माग गरेको छ। माओवादीले त गुप्ताले नभएर प्रधानमन्त्रीले नै जवाफ दिनु पर्ने माग गरेको छ।
सबैतिरबाट आएको दबाब थेग्न नसकेपछि मन्त्री गुप्ता राजीनामा दिने मुडमा पुगेका पुगेका हुन्। ‘यतिका विषय उठिसकेपछि म छलफलमै छु,’ उनले भने। यद्यपि, उनी अहिले प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुरिरहेका छन्। ओली उपत्यकाबाहिर छन्। उनी अहिले काठमाडौँ फर्कदैँछन्। एमालेको उच्च तहले उनलाई राजीनामा दिन भनिसकेको छ। राजीनामा पत्र गोजीमा बोकेर उनी प्रधानमन्त्री ओलीलाई कुरी रहेका छन्।
२०८१ असार ३१ गते असार मसान्तकै दिन उनी सामान्य प्रशासन मन्त्री नियुक्त भएका हुन्। २०८१ पुस अन्तिमतिर मन्त्री गुप्ताले ७८ लाख घुस मागेको र केही रकम समेत बुझेको अडिओ केहीदिनअघि मात्र सार्वजनिक भएको थियो।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष बनाउन भन्दै २५ लाख घुस मागेको अडिओ बाहिरिएको थियो।
उनले ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी समेत परेको छ। यसबारे अख्तियारले समेत छानबिन गरिरहेको सूचना पाएपछि मन्त्री राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। तर, आफूले कुनै गल्ती नगरेको दाबी उनको छ।