सोसल मिडिया
युनिकोड
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि पार्टीमा फर्किएको बताएकी छन् । बिहीबार इमेज टेलिभिजनका पत्रकार जगदीश खरेलले लिएको अन्तर्वार्तामा उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) बन्नु रहेको बताएकी हुन् ।
अन्तर्वार्तामा भण्डारीले आफूले सरकारी सेवा–सुविधा परित्याग गर्दै राष्ट्र र पार्टीको हितका लागि राजनीतिमा फर्किएको जानकारी दिइन् । ‘यो सबै गर्नका लागि तपाईँ एमालेको अध्यक्ष बन्नुपर्छ भन्ने हो ?’ भनेर सोधिएको प्रश्नमा भण्डारीले भनिन्, ‘हो’ ।
एमालेको राजनीतिमा सक्रिय भएकी उनले भनिन्, ‘व्यक्तिगत पदलोलुपता वा महत्वाकांक्षा होइन, राष्ट्रिय आवश्यकताका विषयमा सक्रिय हुन खोजेकी हुँ ।’ भण्डारीले केही साताअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेको थिइन् । उनी एमालेको राजनीतिमा सक्रिय भएसँगै ‘भावी अध्यक्ष’का रुपमा चर्चा चलिरहेको छ ।
उनले आफ्नो प्राथमिकतामा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, उद्योग, कृषि, रोजगारीका माध्यमबाट अर्थतन्त्रको सबलीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तर वृद्धि र जलवायु परिवर्तनजस्ता विश्वव्यापी चुनौतीसहितका विषय रहेको उल्लेख गरिन् ।
उनले वर्तमान अध्यक्ष केपी शर्मा ओलीबारे भनिन्, ‘उहाँ दुई कार्यकाल अध्यक्ष भइसकेकाले अब दोहोरिएर नेतृत्वमा आउनु हुन्न भन्ने मलाई विश्वास छ । मैले चिनेको केपी ओली त्यस्तो होइन ।’ उनले पार्टीभित्र विगतमा देखिएको विभाजन र गुटबन्दी स्वीकार गर्दै त्यसलाई अब समाधान गरी एमालेलाई थप सुदृढ बनाउने रहेको बताइन् ।
भण्डारी दुई कार्यकाल राष्ट्रपति बनेकी हुन्। उनी दुई पटक मन्त्री भएकी थिईन। रक्षामन्त्री र वातावरण तथा जनसङ्ख्या मन्त्रीका रुपमा काम गरिसकेकी उनले दुई पटक एमालेको अध्यक्ष भएका ओलीलाई टक्कर दिन मैदानमा उत्रिएकी छन्।