सोसल मिडिया
युनिकोड
नेपाललाई पेनाल्टी सुटआउटमा हराउँदै उज्वेकिस्तान एएफसी महिला एसियन कपमा छनोट भएको छ । शनिबार (असार २१) उज्वेकिस्तानको तास्केनमा भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै घरेलु टिमले समूह ‘एफ’बाट एसियन कपमा स्थान बनाएको हो ।
पेनाल्टीमा उज्वेकिस्तानका चारै खेलाडीले गोल गरे । नेपालबाट पहिलो प्रहारका निम्ति आएकी सावित्रा भण्डारीको प्रहार नै पोस्टमा लागेर फर्कियो । त्यसपछि गीता राना र सविता रानामगरले गोल गरे ।
गोलकिपर अञ्जना रानामगर चौथो पेनाल्टी प्रहारका निम्ति आइन् । तर, उनको प्रहारलाई उज्वेकिस्तानकी गोलकिपरले विफल बनाइन् । योसँगै पहिलोपल्ट एसियन कप खेल्ने नेपालको सपना समाप्त भयो ।
त्यसअघि, मिली रंगशालामा निर्धारित ९० मिनेटको समय ३–३ को बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टीबाट गरिएको हो ।
खेलमा नेपालविरुद्ध घरेलु टिमकी डियोराखोन खबिबुल्लाइभाले दोस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाएकी थिइन् । लुडमिला काराचिकले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमको अग्रता दोब्बर बनाइएकी थिइन् ।
२४औँ मिनेटमा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै स्कोरलाई २–१ मा ल्याएकी थिइन् ।
तर, ३८औँ मिनेटमा नेपालकी सरस्वती हमालको ह्यान्ड हुँदा उज्वेकिस्तानले पेनाल्टी पाएको थियो । पेनाल्टीमा उज्वेकिस्तानकी मफ्तुना सोयीमोभाले कुनै गल्ती नगरी बललाई जाली चुमाइन् ।
पहिलो हाफको इन्ज्युरी समयमा नोजिमा इर्गासेभाले दोहोरो पहेँलोपछि रातो कार्डको दर्शन गर्दै बाहिरिँदा उज्वेकिस्तान १० खेलाडीमा सीमित बनेको थियो ।
दोस्रो हाफमा दुई गोल थपेपछि नेपाल खेलमा फर्किएको थियो । सावित्राले ७१औँ र ७३औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
उज्वेकिस्तान अपराजित रहँदै आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट भएको हो । उज्वेकिस्तानले यसअघि पहिलो खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । उज्वेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७–० ले हराएको थियो ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले पराजित गरेको थियो । नेपालले दोस्रो खेलमा श्रीलंकाविरुद्ध ८–० को जित निकालेको थियो ।