सोसल मिडिया
युनिकोड
३९ वर्षीय लियोनेल मेस्सीले न्यूयोर्क न्यु जर्सी स्टेडियममा खेलपछि अर्जेन्टिनाका समर्थकहरूले आफ्नै नाम गुञ्जाइरहँदा लामो समयसम्म उनीहरूतर्फ हेरे। यो सम्भवतः विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उनको अन्तिम उपस्थितिको क्षण हुन सक्छ।
विश्वका नजर त्यही खेलमा केन्द्रित भइरहेका बेला, स्पेनका युवा स्टार लामिन यामालले मेस्सीलाई सान्त्वना दिए। त्यसपछि दुवै एकअर्कालाई अंकमाल गरे। यो दृश्य बार्सिलोनाको नम्बर १० ले बार्सिलोनाकै सबैभन्दा महान् नम्बर १० लाई अँगालो हालेको जस्तै थियो।
यो तस्बिरले सन् २००७ को चर्चित फोटो पनि सम्झाइदियो। त्यतिबेला २० वर्षीय मेस्सीले परोपकारी क्यालेन्डरका लागि आयोजित फोटोसुटमा ६ महिनाका शिशु लामिन यामाललाई नुहाइदिएका थिए। विश्वकप फाइनलअघि त्यो तस्वीर फेरि भाइरल बनेको थियो।
त्यो शिशु अहिले विश्वविजेता बनेको छ, जबकि मेस्सीको विश्वकप यात्रा अन्त्यतिर पुगेको देखिन्छ।
बार्सिलोनाकै उत्पादन रहेका १९ वर्षीय लामिन यामालले अन्तर्राष्ट्रिय फुटबलमा लगभग सबै उपलब्धि हासिल गरेका छन्। दुई वर्षअघि स्पेनलाई इंग्ल्यान्डमाथि जित दिलाउँदै युरो कप जितेका उनले अहिले विश्वकप पनि जितेका छन्।
ह्यामस्ट्रिङको चोट बोकेर प्रतियोगितामा प्रवेश गरेका यामालले १९ वर्ष र ६ दिनको उमेरमा युरो कप र विश्वकप दुवै जित्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए।
यस फाइनलको एउटा मुख्य कथा स्पेनको संयमित र प्राविधिक खेलशैली थियो। यसले यामाललाई अझ प्रभावकारी बनायो। अर्कोतर्फ अर्जेन्टिनाको उत्तेजक र आक्रामक रणनीतिले मेस्सीलाई अपेक्षित साथ दिन सकेन।
त्यस रणनीतिबाट अर्जेन्टिनाले कुनै सफलता पाएन, जुन त्यसको खेलअनुसार स्वाभाविक पनि थियो।
स्पेन र यामालले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै विश्व फुटबलका दुई सबैभन्दा प्रतिष्ठित उपाधि युरो कप र विश्वकप आफ्नो नाममा लेखाए। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले स्पेनलाई उपाधि दिलायो।
यामालले स्पेनका लागि खेलेका २८ प्रतिस्पर्धात्मक खेलमध्ये एउटामा पनि हार बेहोरेका छैनन्। ठूला प्रतियोगितामा उनले सुरुआत गरेका १३ खेलमध्ये सबैमा स्पेन विजयी भएको छ।
प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा सुरुआती खेलमा शतप्रतिशत जित कायम गर्ने कुनै पनि युरोपेली खेलाडीको सबैभन्दा लामो कीर्तिमान हो।
यामाल र उनका १९ वर्षीय टोलीसाथी पाउ कुबार्सी विश्वकप फाइनल खेलेर उपाधि जित्ने क्रमशः चौथो र पाँचौँ किशोर खेलाडी बने। यसअघि सन् १९५८ मा ब्राजिलका पेले, १९८२ मा इटालीका जिउसेप्पे बेर्गोमी र २०१८ मा फ्रान्सका किलियन एम्बाप्पेले यो उपलब्धि हासिल गरेका थिए।
स्पेनका प्रशिक्षक लुइस दे ला फुएन्तेले खेलपछि यामालप्रति आभार व्यक्त गरे। उनले भने,‘यामालले उत्कृष्ट फुटबल खेले। यो प्रतियोगिताले उनलाई अझ परिपक्व बनाउनेछ र उनी अहिलेभन्दा पनि अझ महान् खेलाडी बन्नेछन्। उनले टोलीका लागि ठूलो त्याग गरे। हाम्रो टोलीको सबैभन्दा महत्वपूर्ण विशेषता हो। मेरो विचारमा उनले उत्कृष्ट विश्वकप खेले।’
अर्जेन्टिनाका खेलाडीहरूले विशेषगरी निकोलस टालियाफिकोमार्फत उनलाई लगातार दबाबमा राख्ने प्रयास गरे पनि उनले कुनै प्रतिक्रिया जनाएनन्। इंग्ल्यान्डका पूर्वगोलकिपर तथा बीबीसी स्पोर्टका विश्लेषक जो हार्टले भने,‘लामिन यामालले प्रतिक्रिया मात्र दिएनन् उनले साहसका साथ त्यसको सामना गरे। उनी न त आत्तिए न पछि हटे। अर्जेन्टिनाको लगभग पूरा टोलीले उनलाई रोक्ने प्रयास गरिरहेको थियो।’
उनले थपे,‘तर उनी अत्यन्त शान्त रहे। त्यो साँच्चिकै असाधारण प्रदर्शन थियो। लामिन यामाल केवल १९ वर्षका छन्। उनका लागि यो अविस्मरणीय दिन हो। १९ वर्षको उमेरमै उनले फुटबलमा जित्न बाँकी जस्तो केही राखेका छैनन्।’