बेल्जियमका प्याट्रिकले महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको नियुक्ति बुझे 

शुक्रबार, जेठ २३, २०८२

नेपाली राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डे विल्डे नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय टोलीको कप्तानमा विल्डेसँग १ वर्षको सम्झौता गरेको हो।

नेपाली महिला टोलीलाई प्रशिक्षण गर्ने उनी पहिलो विदेशी प्रशिक्षक बनेका हुन्। एन्फाको प्रशिक्षक छनोट समितिले सर्टलिस्टमा रहेका दुईजनाबाट उनको नाम फाइनल गरेको हो। उनले उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत लाओसविरुद्धको खेलमार्फत प्रशिक्षकको भूमिकामा नेपाली टोलीमा डेब्यु गर्ने जनाइएको छ।

एएफसी मिहला एसियन कप छनोटमा लाओस र नेपाल बिच आगामी २९ जुनमा पहिलो खेल हुनेछ। त्यस्तै नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्।

नेपाल फिफा वरीयतामा ९९ औं स्थानमा छ। लाओस भने आठ स्थान तल अर्थात् १०७औं स्थानमा छ। नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्ने छ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउनेछ।

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, उनको टोली लिग चरणमा पोखरा थन्डर्ससँग गोलअन्तरले पछि पर्दै प्लेअफमा पुग्नबाट बञ्चित भएको थियो।

प्याट्रिकले सोमालियाको राष्ट्रिय फुटबल टोली, रुवान्डाको टोली सम्हालेका थिए। त्यस्तै उनले चीनको यु–२३ टोली सम्हालुनका साथै अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्