आईसीसी विश्वकप लिगको त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाल आज स्कटल्याण्डविरुद्ध मैदानमा

सोमबार, जेठ १९, २०८२

स्कटल्याण्डमा आजदेखि सुरु हुने आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाल आज स्कटल्याण्डविरुद्ध मैदानमा उत्रँदैछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने  शृंखलाको उद्घाटन खेलमै नेपालले स्कटल्याण्डको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डी मैदानमा सुरु हुनेछ।

नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ। गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन।

ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ। एक खेल नतिजाविहीन रहेको छ। पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो।

सन् २०२३ मा कीर्तिपुरमा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध दुवै खेल जितेको थियो। तर यसपटक स्कटल्याण्डको घरेलु मैदानमा हुने खेल भएकाले चुनौती थपिएको छ।

अहिलेसम्म १२ खेलमा जम्मा ६ अंकसहित नेपाल ८ टिममध्ये पुछारमा छ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्