सोसल मिडिया
युनिकोड
गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तामा रहेका कांग्रेस र एमालेबीच विवाद भइरहँदा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीसँग राजनीतिक संवाद अघि बढाएका छन्।
आइतबार साँझ ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको दाबी गरिएको छ।
वाम एकताका लागि अघोषित रुपमा प्रयासरत पार्टीका उपमहासचिव वर्षमान पुनलाई साथमा लिएर दाहाल प्रधानमन्त्री ओली भेट्न पुगेका हुन्।
वाम एकताको पक्षमा एमालेको सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि चिनियाँ सद्भावसहित प्रयासरत छिन्। प्रधानमन्त्रीका तर्फबाट उनका विश्वासपात्र एवं हाल संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकारको भूमिकामा रहेका अग्नि खरेल सहभागी छन्।
तत्कालको चासो बनेको संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन सम्बन्ध आयोगको पदाधिकारी नियुक्तिको विषय भनिए पनि भेटलाई वैकल्पिक सरकार गठनको प्रयासका रुपमा लिइएको छ।
सिंहदरबारमा भएको भेटमा ओलीले दाहाललाई महत्व दिएको देखिन्छ। उनी प्रधानमन्त्रीको कुर्सी छाडेर दाहालसँग तल बसेका छन्।कांग्रेससँगको सत्ता गठबन्धन नै धरमराउने अवस्था बनेपछि ओली गभर्नर कांग्रेस अनुकूलको व्यक्तिलाई बनाउन तयार भएका थिए। तर सिफारिस समितिमा रहेका व्यवसायिक छविका पूर्व गभर्नर विजयनाथ भट्टराईले समितिकै स्वायत्ततामाथि प्रश्न उठाउँदै राजीनामा दिएपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिको सदस्य बनाएको छ।
वैशाख १७ गतेको मन्त्रिपरिषदले अधिकारीलाई नियुक्त गरेको हो। सिफारिस समितिका तीनमध्ये राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल बाहेक अध्यमन्त्री विष्णु पौडेल र अधिकारी ओलीको विश्वासका पात्र हुन्।
अधिकारी समितिमा थपिएपछि सिफारिस समिति एमालेको पकडमा गएको छ भने अर्कोतर्फ कांग्रेसले गभर्नर बनाउन चाहेका राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टको राजीनमा स्वीकृत भएको छैन जसले कांग्रेसलाई झस्काएको छ।
कांग्रेसका एक नेताले पूर्वसहमतिअनुसार नै गभर्नर नियुक्ति अघि बढ्ने विश्वास व्यक्त गरे। यदि त्यसमा गडबड गरे ओलीले सरकार नै गुमाउनु पर्नेसम्मको चेतावनी उनले दिए।
ती नेताले भने, ‘पूर्वसहमति अनुसार नै गभर्नर नियुक्त अघि बढ्छ भन्ने हाम्रो विश्वास छ। अब उहाँले सिफारिस समितिबाटै गडबड गर्न खोज्नु भएको हो भने गभर्नर नियुक्त गरेर आफू त बिदा हुन चाहेको होइन होला नि!’
अर्कोतर्फ ओली नेतृत्वको सरकारप्रति कांग्रेसभित्र असन्तुष्टि चुलिदै गएको छ। महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्दै आएका छन्। कांग्रेसको ठूलो हिस्साबाट आफू सहभागी सरकारको निरन्तर आलोचना भएबाट प्रधानमन्त्री ओली सन्तुष्ट नरहेको उनका सार्वजनिक अभिव्यक्तिले नै देखाउँछ।
त्यस्तै ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पनि संवाद अघि बढाएका छन्। ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल बालुवाटार नै पुगेपछि दुई पार्टीबीचको तिक्तता घटेको छ भने भित्रभित्रै संवादको थालनीसमेत भइरहेको स्रोतको दाबी छ।
अर्कोतर्फ संक्रमणकालीन न्याय सम्बन्धि दुई आयोगको पदाधिकारी नियुक्तिप्रति द्वन्द्व पीडितहरुले विरोध जनाएका छन्। उनीहरुले अहिले भइरहेको सिफारिस प्रक्रिया नै रोकेर नयाँ शिराबाट काम थाल्न आग्रह गरेका छन्।
अर्कोतर्फ माओवादीलाई चिढ्याएर पनि ओली संक्रमणकालीन न्यायमा अघि बढ्न सक्ने अवस्थामा छैनन्। त्यसो हुँदा एक पक्षलाई विश्वासमा लिनुपर्ने दबाबमा ओली छन्।