निजी क्षेत्रमा अख्तियारले सुँड पसार्न पाएन, कर्मचारीका हातखुट्टा बाँध्ने हट्यो व्यवस्था

बिहीबार, पुस १८, २०८१

ठ्याक्कै पाँच वर्षपछि भ्रष्टाचार निवारण ऐन संशोधन गर्न बनेका विधेयक प्रतिनिधिसभाका राज्यव्यवस्था तथा सुशासन समितिबाट आज पुस १८ गते पारित भएको छ । समितिले बिहीबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न गठित विधेयकको उपसमितिको प्रतिवेदन सर्वसम्मत् पारित गरेको हो । यससँगै विधेयक अब प्रतिनिधिसभामा पुग्नेछ । 

विधेयक बाहलवाला प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २०७६ माघ ६ गते राष्ट्रियसभामा दर्ता भएका थिए । राष्ट्रियसभाले ०७९ चैत २७ गते पारित गरी प्रतिनिधिसभामा पठाएको थियो ।

प्रतिनिधिसभाले ०८० जेठमा विधेयकमा दफावार छलफल गर्न राज्य व्यवस्था समितिमा पठाएको थियो । विधेयकमा विवादित विषयमा सहमति जुटाउन कांग्रेसका सांसद ह्रृदयराम थानीको संयोजकत्वमा उपसमिति बनेको थियो । 

उपसमितिबाट सर्वसम्मत पारित विधेयक समितिले हुबहु पारित गरेको हो । भ्रष्टाचारका उजुरीमा अनुसन्धानमा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिफोन कल रेकर्ड वा सञ्चार माध्यमको विवरण हेर्न पाउने भएको छ । 

समितिबाट पारित प्रतिवेदनमा भ्रष्टाचारको अनुसन्धानमा अदालतको अनुमति लिएर अख्तियारले टेलिफोन रेकर्ड वा संचार माध्यमको विवरण प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । “सम्बन्धित अदालतको अनुमति लिइ टेलिफोन वा सञ्चार माध्यमको विवरण प्राप्त गर्ने” भनिएको छ । अख्तियारले आरोपितको कम्प्युटर वा विद्युतीय साधन परीक्षण गर्न पाउनेछ । 

हाल फौजदारी मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीले र सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र अदालतको अनुमति लिएर टेलिफोन रेकर्डमा पहुँच स्थापित गर्न पाउने व्यवस्था छ ।

त्यस्तै, कर्मचारीका खरिद योजना स्वीकृत नगरी मेसिनयन्त्र, उपकरण खरिद गरे त्यो भ्रष्टाचारको कसूर मानिनेछ ।

स्रोत सुनिश्चित नभई बोलपत्र आह्वान गर्ने, प्रचलित कानुन बमोजिमबाहेक खरिद कारबाही रद्द गर्ने वा पुनः बोलपत्र आह्वान गर्ने काम गरेको अवस्थामा पनि भ्रष्टाचारको कसुर ठहरिने व्यवस्था गरिएको छ । 

प्रतिवेदनमा बिगो दाबी र सम्पत्ति जफत प्रयोजनका लागि मात्र प्रतिवादी बनाइएका कर्मचारी/पदाधिकारी अब निलम्बनमा नपर्ने उल्लेख छ । अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी/पदाधिकारी स्वतः निलम्बनमा पर्दै आएका थिए ।

त्यस्तै, निजी क्षेत्रमा अख्तियारको प्रवेश रोक्न दलहरु सहमत भएका छन् । अख्तियारले निजी क्षेत्रमा हुने भ्रष्टाचार अनुसन्धान गर्न पाउने प्रस्ताव विधेयकमा गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्