सोसल मिडिया
सम्पर्क
युनिकोड
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपासम्वद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको बताए। देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको उनको भनाइ छ।
राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उनले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको बताए। राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उनको भनाइ छ।
उनले देशमा साढे तीन दशकदेखि नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गरे। उनले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।
देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उनले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताए। नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ।
कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताए।
उनले भने, ‘मान्छेमा मात्रै समस्या होइन, समस्या व्यवस्थामा पनि छ। मान्छे फेरेर मात्रै समस्या समाधान हुँदैन भन्नेकुरा अहिले पुष्टि भइरहेको छ। देशलाई अझै पनि द्वन्द्वमा जान नदिने हो भने नयाँ समझदारी गर्नैपर्छ। कसैले नहार्ने र देशले जित्ने सहमति होस्।’