नेपाल मत्स्य समाजले पायो नयाँ नेतृत्व, तिवारी भए अध्यक्ष

शनिबार, मंसिर १२, २०८३

नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको छ। 

समाजकी अध्यक्ष डा.सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार धोबीघाटमा भएको अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा समाजको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। 

मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार तथा अनुसन्धानमा संलग्न सरोकारवालाहरूको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन्।

उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ तथा पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाललगायतको उपस्थिति रहेको थियो।

साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो। 

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १३:३३
प्रतिक्रिया दिनुहोस्