सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले दोस्रोपटक राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री नियुक्त भएको नौ महिना अवधिमा उनले शुक्रबार शीतल निवास पुगेर औपचारिक रूपमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। उनले यसअघि मधेशमा साम्प्रदायिक दंगा फैलिएका बेला गत साउन १४ गते पहिलोपटक राष्ट्रपति पौडेलसँग औपचारिक भेटवार्ता गरेका थिए।
यसअघि शीतल निवासमा हुने विभिन्न कार्यक्रममा पुग्ने गरे पनि प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच दोस्रोपटक यो एक्लाएक्लै भेटवार्ता भएको हो।
प्रधानमन्त्री शाहले विदेश भ्रमणमा जानुअघि राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने परम्परा तोडेका छन्। उनी राष्ट्रपति पौडेलसँग भेट नगरी मंसिर ६ गते दुईदिवसीय राजकीय भ्रमणका लागि भारत गएका थिए।
त्यस्तै असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा पनि उनले राष्ट्रपतिलाई औपचारिक जानकारी गराएका थिएनन्। संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
यसपटक पनि भारत भ्रमणबाट फर्किएको पाँचौँ दिनमा प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमणका बारेमा राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको शीतल निवासका अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।