देउवा कांग्रेसलाई महाधिवेशनको चरम चटारो, बनायो यस्ता पाँच उपसमिति

शुक्रबार, मंसिर ११, २०८३

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आयोजना गर्न लागेको १५औं महाधिवेशनको तयारीका लागि पाँच वटा उपसमितिका संयोजक मनोनित गरेको छ। 

महाधिवेशन मूल तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सभापतित्वमा बसेको बैठकले उपसमिति संयोजक मनोनित गरेको हो। प्रचार प्रसार समितिको संयोजकमा डा. प्रकाश शरण महत र अतिथि सत्कार एवं समन्वय समितिको संयोजकमा केन्द्रीय एनपी साउदलाई मनोनित गरिएको छ।

त्यस्तै, प्रशासन समन्वय एवं स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई मनोनित गरिएको छ। 

देउवा समूहको १५औँ महाधिवेशन यही मंसिर २१–२३ गते काठमाडौंमा हुँदै छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आयोजक समितिले तयारीलाई तीव्रता पारेको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेल बताए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, अतिथि तथा नेता–कार्यकर्ताको व्यवस्थापनदेखि प्रचारप्रसार, स्वयंसेवक परिचालन, सांस्कृतिक कार्यक्रम र स्वास्थ्य सेवासम्मका पक्षलाई प्रभावकारी बनाउन गठित समितिहरू कार्यभार तोकिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ११, २०८३  २०:३५
प्रतिक्रिया दिनुहोस्