दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजदेखि शुरू, मंसीर २७ गते मैझारो

मंगलबार, मंसिर ८, २०८३

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने पुरुष फुटबल प्रतियोगिताको शुभारम्भ खेलमा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।  खेलकुद प्रतियोगिताको शुभारम्भ खेललाई दर्शकमैत्री बनाउन र रङ्गशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने उद्देश्यले शुभारम्भ खेल सबै दर्शकका लागि निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो। 

कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली रङ्गशालामा दिउँसो १:०० बजे शुभारम्भ खेल आयोजना हुने तय भएको छ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरू हुन लागेका हुन् । आजदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा महिला क्रिकेट,पुरुष फुटबल, महिला बास्केटबल,टेनिस र पौडी खेल छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्। बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।

दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश,तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ। आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १२:५२
प्रतिक्रिया दिनुहोस्