एनपीएलको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

बिहीबार, मंसिर ३, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार दोस्रो क्वालिफायर खेल हुँदैछ । यो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो ।

यता, चितवनले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो ।

पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएकी सुदूर तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  ०७:५१
प्रतिक्रिया दिनुहोस्