बागलुङ पुगेर देउवाले सुनाए यसो भएमा आफैंले कांग्रेसको तालाचाबी पाउने कुरा

शुक्रबार, मंसिर ४, २०८३

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला गर्ने विश्वास रहेको बताएका छन्। 

शुक्रबार देउवा पक्षको बागलुङ जिल्ला अधिवशेन सुरु भएको छ। अधिवेशन उद्घाटन गर्न बागलुङ पुगेका देउवाले न्यायाधीशहरू नबिक्नेमा आफू विश्वस्त रहेको बताए। 

यसका लागि उनले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शाही शासनकालको उदाहरण प्रस्तुत गरे। त्यतिबेला आफूले अदालतबाट न्याय पाएको स्मरण गरे। 

‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो। अदालतको फैसलाले छाडिदियो,’ देउवाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो। सर्वोच्चले राजाको अगाडि छाड्ने के हिम्मत गर्ला र भन्ने लागेको थियो, त्यो बेला पनि छाडेको थियो।’

यस पटक पनि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने उनले बताए। ‘यस पटक पनि विश्वास छ, न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ,’ देउवाले भने। 

गत वर्ष भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वको आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। त्यसका विरुद्ध देउवा सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले पनि निर्वाचन आयोगको निर्णयलाई मान्यता दिएको थियो। 

यस पटक फेरि देउवाले सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिएका थिए। त्यसमा सर्वोच्चले निस्सा जारी गरेको थियो। यो मुद्दामा फेरि सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ। त्यसलाई लिएर देउवाले आफ्नो पक्षमा फैसला हुने विश्वास व्यक्त गरेका हुन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  २०:५६
प्रतिक्रिया दिनुहोस्