सोसल मिडिया
सम्पर्क
युनिकोड
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेल्नेविरुद्ध प्रहरीले आइतबार (कात्तिक २२) रातभर विशेष ‘अपरेसन’ सञ्चालन गरेको छ । त्यसक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी जयराज सापकोटा आफैँ फिल्डमा खटिए ।
प्रदेश र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले अपरेसनका क्रममा वीरेन्द्रनगरका चार स्थानमा छापा मारेर जुवातास खेलिरहेका ३५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूका साथबाट नगद कुल नौ लाख ६६ हजार १३६ रुपैयाँ बरामद समेत गरिएको प्रहरीले जनाएको छ ।
डीआईजी सापकोटा वीरेन्द्रनगर नगरपालिका–४, मूलपानी चोकस्थित स्थानीय सुशील भारतीको घरमा छापा मार्न पुगेका थिए । उक्त घरबाट प्रहरीले चार लाख एक हजार ४८६ रुपैयाँ नगदसहित १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–९ का ३८ वर्षीय मदन वली, वीरेन्द्रनगर–१० का ३३ वर्षीय मानसिंह रम्तेल, वीरेन्द्रनगर–४ का ३५ वर्षीय सुशील भारती, ४० वर्षीय कमल खड्का, ४३ वर्षीय सन्तोष शाही, ४२ वर्षीय अमरबहादुर खड्का, ४० वर्षीय चेतन गिरी, ३५ वर्षीय कुशुम रावल, वीरेन्द्रनगर–७ का ४५ वर्षीय नगेन्द्र अधिकारी, वीरेन्द्रनगर–४ का ३० वर्षीय करण शाही, वीरेन्द्रनगर–९ का ३२ वर्षीय भक्त थापा र बर्दियाको बाँसगढी नगरपालिका–९ का अर्जुन शाही छन् ।
वीरेन्द्रनगर–६, बुद्धपथस्थित खिमराज काफ्लेको घरमा पनि डीआईजी सापकोटा आफैँ पुगेका थिए । उक्त स्थानबाट पाँच हजार ८०० रुपैयाँ नगदसहित पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय रोहित गिरी, राजन शर्मा, विक्रम नेपाली, भरतन गुरुङ र हेमन्त नेपाली छन् ।
प्रहरीले वीरेन्द्रनगर–१०, बुलबुले चोकस्थित डिलाराम गिरीको घरमा पनि छापा मारेको थियो । उक्त घरबाट घरधनी गिरीसहित १० जना पक्राउ परेका छन् । उनीहरूका साथबाट प्रहरीले एक लाख ८१ हजार रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ४० वर्षीय अर्जुनजंग शाही, वीरेन्द्रनगर–४ का ५१ वर्षीय अर्जुनबहादुर शाही, वीरेन्द्रनगर–५ का ६० वर्षीय राजु गुरुङ, वीरेन्द्रनगर–९ का ४९ वर्षीय केशवराज गिरी, वीरेन्द्रनगर–५ का ३५ वर्षीय विकास शाही, ५० वर्षीय नारायण जिसी र वीरेन्द्रनगर–६ का ५१ वर्षीय मधु शर्मा छन् ।
यस्तै, वीरेन्द्रनगर–३, गण्डकीलाइनबाट आठजना पक्राउ परेका छन् । उक्त स्थानबाट प्रहरीले तीन लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ ।
डीआईजी सापकोटाले आफू नै फिल्डमा खटिएर यो अपरेसन चलाएको बताए । एक रात सञ्चालन गरिएको अपरेसनका क्रममा चार स्थानबाट ३५ जना पक्राउ परेका उनले जानकारी दिए ।