सोसल मिडिया
सम्पर्क
युनिकोड
गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिताको तेस्रो संस्करण आगामी ५ मंसिर शनिबार काठमाडौंमा सञ्चालन हुनेछ ।
स्वस्थ जीवनशैली प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्ष खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ । खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ महिला तथा पुरुष दुवै समूहका लागि ५ किलोमिटर दौड हुनेछ ।
कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बिमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर र पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार पाउनेछन् । पहिलो हुनेले ५० हजार, दोस्रोले ३५ हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै, कर्पोरेटतर्फ पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र पदकसमेत प्रदान गरिने बैंकले जनाएको छ ।
खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु भई बूढानीलकण्ठ नगरपालिका–३ को कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमै आएर सम्पन्न हुनेछ । कर्पोरेटतर्फको ५ किलोमिटर दौड भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पताल पुगेर सोही मार्ग हुँदै बालुवाटारमै फर्किएर सम्पन्न हुनेछ ।
प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले २८ कात्तिकदेखि २ मंसिरसम्म अनलाइनमार्फत १०० रुपैयाँ दर्ता शुल्क बुझाएर नाम दर्ता गराउन सक्नेछन् ।
बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै इच्छुक धावकलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ ।