सोसल मिडिया
युनिकोड
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने दाबी गरेका छन्।
निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आफ्नो पुरानो प्रतिबद्धता सम्झाएका हुन्। उनले रास्वपाले विगतमा स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने विषय उठाएको बताए।
आफ्नो पार्टीले उठाएका यी मुद्दा कार्यान्वयन भए स्थानीय तहमा दलीय चुनाव चिह्नभन्दा स्वतन्त्र उम्मेदवार प्राथमिकतामा पर्ने उनको भनाइ छ। उज्यालो नेपाल पार्टी चुनावबाट नभाग्ने स्पष्ट पार्दै उनले गैरदलीय निर्वाचन प्रणालीका लागि सरकारलाई दबाब दिने बताए।
रास्वपाले घोषणापत्र र प्रतिबद्धतापत्रमा नै स्थानीय तहलाई गैरदलीय बनाउने उल्लेख गरेको उनले स्मरण गराए। शिक्षा, स्वास्थ्य, पूर्वाधार र दैनिक सेवामा स्थानीय जनप्रतिनिधि दलभन्दा जनताप्रति बढी जवाफदेही हुनुपर्ने उनको तर्क छ।
दलीय टिकट वितरणमा हुने आर्थिक चलखेल र पार्टीको नियन्त्रण अन्त्य गर्न गैरदलीय व्यवस्था आवश्यक रहेको उनले औंल्याए। यसका लागि आगामी निर्वाचनअघि नै आवश्यक ऐन संशोधन तथा नियम निर्माण गर्न उनले सरकारसँग माग गरे।
विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय पनि आफ्नो पार्टीको मुख्य एजेन्डा भएको उनले बताए। विगतमा समय अभाव, संसद् नहुनु र कानुनी जटिलताका कारण यो व्यवस्था लागू गर्न कठिनाइ भएको उनले स्पष्ट पारे।
सञ्चारकर्मीसँग बोल्दै उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले घोषणापत्र र प्रतिबद्धतापत्रमा स्थानीय तहको निर्वाचन गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषय उठाएको थियो। यही प्रतिबद्धताका आधारमा जनताले ठूलो समर्थन दिएका छन्।’
उनले थपे, ‘तर सरकार बनेको लामो समय बितिसक्दा पनि यी विषय कार्यान्वयनका लागि ठोस पहल भएको छैन।’ स्थानीय जनप्रतिनिधि जनताप्रति प्रत्यक्ष जवाफदेही हुनुपर्ने भन्दै उनले भने, ‘दलीय हस्तक्षेप, टिकट वितरणमा हुने आर्थिक चलखेल र भ्रष्टाचार न्यूनीकरण गर्न स्थानीय निर्वाचन गैरदलीय हुनुपर्छ भन्ने हाम्रो माग हो। त्यसैले आगामी निर्वाचनअघि नै यो व्यवस्था लागू गर्न सरकारसँग जोडदार माग गर्दछौँ।’
विदेशमा रहेका नागरिकको मताधिकारबारे उनले भने, ‘अन्तरिम सरकारका बेला समय अभाव, संसद् नहुनु र कानुनी जटिलताका कारण यो विषय अघि बढ्न सकेन। तर अहिले सरकारसँग बहुमत र संसद् भएकाले कार्यान्वयन नगर्नुपर्ने कुनै बहाना छैन।’
गैरदलीय व्यवस्था लागू नभए पनि चुनावबाट पछि नहट्ने बताउँदै उनले भने, ‘उज्यालो नेपाल पार्टीले जनताका लागि काम गर्न सक्ने, राम्रो विगत भएका र सक्षम व्यक्तिलाई उम्मेदवार बनाउनेछ।’
उम्मेदवारीबारे प्रस्ट पार्दै उनले भने, ‘त्यस्ता व्यक्ति पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्छन्, तर अहिले नै टिकट वितरण गर्ने पक्षमा हामी छैनौँ।’ श्रम संस्कृति पार्टीसँगको एकताबारे उनले भने, ‘अहिलेसम्म कुनै संवाद वा भेटघाट भएको छैन। भविष्यमा एकता हुन सक्ने सम्भावना भए पनि त्यसका लागि विचार र एजेन्डामा सहमति हुन आवश्यक छ।’
आफ्नो पार्टीको लक्ष्य स्पष्ट पार्दै उनले भने, ‘उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य सुशासन कायम गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र हरित क्रान्तिमार्फत देशलाई समृद्ध बनाउने हो। हामी भाषणभन्दा काममा विश्वास गर्छौँ।’
अहिले संसद् र सरकार दुवै भएकाले यो विषय कार्यान्वयन गर्न कुनै बहाना बनाउन नमिल्ने उनको भनाइ छ। स्थानीय तहको निर्वाचनमा विगतको कार्यसम्पादन राम्रो भएका र जनतालाई सेवा दिन सक्ने सक्षम व्यक्तिलाई टिकट दिइने उनले बताए।
त्यस्ता सक्षम उम्मेदवार पार्टीभित्रका वा बाहिरका जोसुकै हुन सक्ने उनले प्रस्ट पारे। श्रम संस्कृति पार्टीसँग एकताका विषयमा हालसम्म कुनै छलफल नभएको उनले जानकारी दिए।
भविष्यमा विचार मिल्ने दलहरूसँग सहकार्यको सम्भावना रहे पनि अहिले आफ्नै पार्टी विस्तारमा केन्द्रित रहेको उनले बताए।