सोसल मिडिया
युनिकोड
जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम संसदीय सुनुवाइ समितिले होल्ड गरेको छ ।
बुधबार बसेको संसदीय समितिको बैठकले उनको नाम अनुमोदन वा अस्वीकृत नगरी होल्डमा राखेको हो । प्रस्तावित राजदूत थापाको जापानको पिआर रहेको उजुरी परेको थियो । उनले समितिमा आफ्नो पिआर नरहेको प्रमाण पेस गरेका थिए ।
तर, उनको सम्पति, श्रीमती र छोराछोरी जापानमा नै रहेको भन्दै स्वार्थको द्वन्द्व हुने प्रश्न सांसदहरूले उठाएका थिए । सुनुवाइका क्रममा थापाले आफूले पिआर छोडिसकेको, घर श्रीमतीको नाममा रहेको, आफूले सरकारी जागिर नखाएको दाबी गरेका थिए ।
परराष्ट्रमार्फत कागजात माग गरेको र त्यो आइपुग्न समय लाग्ने जवाफ आएको भन्दै होल्डमा राखिएको हो । उनको नामबारे निर्णय लिने विषयमा सांसदहरुबीच मत बाझिएपछि सभापति बोधनारायण श्रेष्ठले उनीबारेको निर्णय होल्डमा राखेको जानकारी समितिमा गराए ।
प्रस्तावित १३ राजदूतमध्ये १० जनाको नाम अनुमोदन हुँदा दुई जनाको नाम अस्वीकृत भएको छ । मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेललाई संसदीय समितिले अनुमोदन गर्न अस्वीकार गरेको हो । त्यस्तै, साउदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।
यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू
डा निश्चलनाथ पाण्डे भारत
कल्याणराज शर्मा, चीन
चिरनजंग थापा, अमेरिका
गौरवशमशेर जबरा, बेलायत
सरु जोशी, जर्मनी
सुरेश कुमार कर्ण, इजरायल
पद्माक्षी राणा, ओमान
संगम श्रेष्ठ, दक्षिण कोरिया
प्राप्ति शेरचन, स्पेन
डा मञ्चला झा, श्रीलंका