सोसल मिडिया
युनिकोड
राहदानी छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले थप कागजात तथा प्रमाण झिकाउन आदेश दिएको छ।
विशेष अदालत काठमाडौंका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज असोज २० गते यस्तो आदेश दिएको हो।
राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याललाई प्रतिवादी बनाइएको भ्रष्टाचार (गैरकानुनी लाभ) सम्बन्धि मुद्दामा विशेष अदालतले थप कागजात मगाउने आदेश गरेको हो।
अदालतले अनुसन्धानका क्रममा परीक्षणका लागि पठाइएको दशीको परीक्षण प्रतिवेदन पेस भएको नदेखिएको भन्दै उक्त परीक्षणसँग सम्बन्धित प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट झिकाउन आदेश दिएको छ।
त्यस्तै, सम्बन्धित खरिद प्रक्रियाअन्तर्गत छनोट भएको कम्पनीबाट हालसम्म छपाइ भई आपूर्ति भएको राहदानीको संख्या, प्राविधिक विनिर्देशनबमोजिम गुणस्तर परीक्षण गरिएको भए त्यसको प्रतिवेदन तथा आपूर्ति भएका राहदानीबापत भुक्तानी गरिएको रकमको विवरण राहदानी विभागबाट झिकाउन अदालतले आदेश दिएको छ।
गत वर्ष राहदानी छपाईका लागि खोलिएको ठेक्का दुई जर्मन कम्पनीले पाएका थिए।
अदालतले उक्त खरिद प्रक्रियासँग सम्बन्धित खरिद समितिमा रहेका व्यक्तिहरूमध्ये प्रतिवादी कायम गरिएका मोतिबहादुर थापा, प्रविन चौहान, प्रतिभा भुजेल, अमृता श्रेष्ठलगायत ७ जनालाई समेत बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।
विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत विशेष सरकारी वकिल कार्यालय, काठमाडौंको समन्वयमा भौतिक रूपमा वा श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्सिङ) मार्फत बकपत्रका लागि उपस्थित गराउन भनिएको छ।