सोसल मिडिया
युनिकोड
नक्कली बिल बनाएर विद्युत् विस्तारका लागि विनियोजित ९ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका तत्कालीन प्रमुखसहित आठजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ।
आर्थिक वर्ष ०७७/७८ मा हुम्लाको अदानचुली गाउँपालिका कुकुर फाल्ना छहराखेतदेखि मुगुको सोरू गाउँपालिका– ३, भिईसम्म बत्ती विस्तारको काम गर्दा नौ लाख २६ हजार २३२ रुपैयाँ भुक्तानी गरेर अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी, जनप्रतिनिधि र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार मुद्दा दायर गरेको हो।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमाल, सबइन्जिनियर विश्वराज भण्डारी र लेखापाल रुनबहादुर सेजुवाल तथा सोरू– ३ का तत्कालीन वडाध्यक्ष लालु धामीले मिलेमतोमा नेपाल सरकारलाई हानी पुर्याएको अख्तियारको ठहर छ।
उक्त कार्यमा गल्फागाढ छहराखेत भिई जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष प्रदीप बुढा, उपाध्यक्ष भीमचन्द्र बुढा, सचिव धनराज बुमी र कोषाध्यक्ष लक्ष्मी धामीसमेत संलग्न रहेको आरोपपत्रमा उल्लेख छ।
उनीहरूले फिल्डमा भएको कामभन्दा बढी मूल्यांकन गरी नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, झुट्टा बिल भुक्तानी, योजना अनुगमन तथा भुक्तानीका लागि सिफारिसलगायतका कार्य गरेको अख्तियारको दाबी छ। उनीहरूसँग जनही नौ लाख २६ हजार २३२ रुपैयाँ बिगो मागदाबी गरेर आरोपपत्र दायर भएको छ।