लगातार पाँच जिल्लाको सिडिओ चलाएका मेखबहादुरको सिडिओ यात्रामा सरकारले लगाईदियो ब्रेक

बिहीबार, असोज १५, २०८३

लगातार पाँच जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्ने सौभाग्य पाएका सहसचिव मेखबहादुर मंग्रातीको सिडिओ यात्रामा बल्ल ब्रेक लागेको छ ।

पाँचथर, सप्तरी, जाजरकोट र ओखलढुङ्गा हुँदै उदयपुरको सिडिओ चलाएका मेखबहादुरको सिडिओ बन्ने मेखलाई सरकारले अर्को व्यवस्था नहुँदासम्मका लागि ब्रेक लगाईदिएको हो ।

अब उनले उदयपुरबाट रमाना लिएर रातोघर भनेर चिनिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हाजिर हुनुपर्ने भएको हो ।

दलित ‘कोटा’को जस्केलोबाट सहसचिव बनेका मंग्रातीले सिडिओमा हान्दै आएको ‘ह्याट्रिक’मा तत्काल भने पूर्णबिराम लागेको हो ।

नायब सुब्बा, शाखा अधिकृत र सहसचिवमा दलित ‘कोटा’बाट माथि उक्लिएका मंग्राती सिडिओको रूपमा भने राम्रै काम गर्नेमा पर्छन्। उनी २०७८ कात्तिकमा दलित कोटाबाट सहसचिव बनेका हुन् । 

२०४३ सालमा सिन्धुलीको कमलमाई नगरपालिका वडा नम्बर ४ मा जन्मिएका मेखबहादुर खरिदारबाट निजामती सेवामा प्रवेश गरेका हुन्। खरिदार सरहको गाउँ विकास समितिको सचिव बनेर निजामती सेवामा प्रवेश गरेका मेखबहादुर २०६६ पुसमा दलित कोटाबाट नायब सुब्बा बने। 

त्यसपछि ०६७ कार्तिकमा दलित कोटाबाटै शाखा अधिकृत भएका उनी दलित कोटाबाट संसद् सेवाको उपसचिवको लिखितमा नाम निकाले पनि अन्तर्वार्तामा असफल भए। 

२०६७ कार्तिकमा दलित कोटाबाट शाखा अधिकृत बनेका मेखबहादुर त्यसको ११ वर्षपछि २०७८ साल कार्तिकमा दलित कोटाबाटै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहको सहसचिव बनेका थिए। मंगलबार बसेको क्याबिनेटले उनको अख्तियारमा सरुवा गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १७:०८
प्रतिक्रिया दिनुहोस्