पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई रातारात समात्नु पर्ने के हो खास कारण ?

आइतबार, असोज ११, २०८३

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शनिबार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित घरबाटै पक्राउ गरेको हो। उनलाई रातारात समातिएको हो। 

यद्यपि उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण खुलाइएको छैन। तर, सरकारलाई घेराबन्दीमा पार्न सक्रिय भएको र त्यस्ता तत्वलाई उकेरा लगाएको निचोडमा प्रधानमन्त्री र गृहमन्त्री पुगेपछि राणा समातिएको श्रोतको भनाई छ। 

२०७५ पुस १८ गते सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको थियो।

त्यसपछि निलम्बित उनी महाभियोग प्रस्ताव पारित नभए पनि सर्वोच्च अदालत फर्किन पाएनन् र यहीबिच उनको कार्यकाल समाप्त भएको थियो।

केही महिनायता भने राणाको सक्रियता निकै बढेको थियो । उनले राजनीतिक नेतृत्वसँग भेट गर्ने र अदालतभित्र प्रभाव विस्तार गर्ने काम गरिरहेको स्रोतहरूको भनाइ छ । कतिपय मुद्दा प्रभावित बनाउने भूमिकामा पनि राणाको सक्रियता रहेको स्रोतको दाबी छ ।

राणाले पछिल्ला दिनमा सक्रिय बनाएको आर्थिक गतिविधि र राजनीतिक संगतबारे कूटनीतिक नियोगका भेटघाटमा पनि चर्चा हुने गरेको थियो । स्रोतका अनुसार भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार आयोजना गरेको बिदाइ भेटमा पनि उच्च अधिकारीहरूले राणाको नाम लिएरै उनका पछिल्ला अस्वाभाविक गतिविधिबारे चर्चा गरेका थिए ।

केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा राणाले आफूहरूलाई अनावश्यक रूपमा बदनाम गराएको उल्लेख गरेका थिए । स्रोतको दाबीअनुसार ओलीसँगको चार घण्टा लामो भेटमा उनीहरूको साझा बुझाइ आफूहरूमाथि समाजले ज्यादती गरेको भन्ने थियो ।

त्यसैले उनी प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को निगरानीमा परेको पनि स्रोतहरूको दाबी छ । स्रोतका अनुसार प्रधानमन्त्री बालेनलाई पछिल्ला दिनमा राणाले गरेका हरेक गतिविधिबारे रिपोर्टिङ हुने गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्