सरकारले राजदूतमा सिफारिस गरेका १३ देशका राजदूतका नाममा उजुरी आह्वान

शनिबार, असोज १०, २०८३

नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूको सम्बन्धमा कुनै सूचना वा उजुरी भए प्रमाणसहित पेस गर्न संसदीय सुनुवाइ समितिले आह्वान गरेको छ।

समितिले आज सार्वजनिक गरेको सूचनामा प्रस्तावित राजदूतका सम्बन्धमा कसैलाई नियुक्तिका लागि उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार तथा सबुतप्रमाणसहित रीतपूर्वक उजुरी दिन सकिने जनाइएको छ।

सूचना पहिलोपटक प्रकाशित भएको मितिले १० दिनभित्र संघीय संसद्को सचिवालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था गरिएको संसदीय सुनुवाइ समितिले जनाएको छ। समितिले उजुरी गर्दा प्रस्तावित राजदूतको नाम, ठेगाना, पद तथा आफूले दिएको उजुरीको स्पष्ट आधार खुलाउन आग्रह गरेको छ।

प्राप्त उजुरीबारे आवश्यक प्रक्रिया पूरा गरी संसदीय सुनुवाइ गरिने सार्वजनिक सूचनामा जनाइएको छ।

यही असोज ८ गते बसेको समितिको बैठकले सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। असोज २ गते मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार भारतका लागि डा निश्चलनाथ पाण्डे, चीनका लागि डा कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा र जर्मनीका लागि सरु जोशीलाई राजदूतमा सिफारिस गरिएको छ।

त्यसैगरी इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा, ओमानका लागि डा पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा मंचलाकुमारी झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरिएको छ।

संसदीय सुनुवाइपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने समितिले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्