सोसल मिडिया
युनिकोड
सागरनाथ वन विकास परियोजनाको जग्गामा नदीजन्य पदार्थ उत्खनन गर्दा रोयल्टी असुल नगरी राजस्व चुहावट गरेको मुद्दामा अदालतमा प्रतिकूल बकपत्र दिने सरकारी साक्षीविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
अनुसन्धानका क्रममा बयान फेरेपछि रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्रराज आचार्यविरुद्ध बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका हुन् ।
यसअघि विशाल घिमिरेसहितका प्रतिवादी संलग्न राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान अधिकारीलाई सहयोग गरेको आधारमा आचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिइएको थियो। उनलाई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा पेस गरिएको भए पनि गत भदौ १० गते विशेष अदालतमा बकपत्र गर्दा उनले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानको प्रतिकूल हुने गरी बयान दिएका थिए।
अनुसन्धानका क्रममा आचार्यले बागमती नगरपालिकासँग प्रचलित कानुनभन्दा कम मूल्यमा नदीजन्य पदार्थ खरिद गर्न सम्झौता गरेको देखिएको छ। सागरनाथ वन विकास परियोजना क्षेत्रमा रोयल्टी दाखिला नगरी गैरकानुनी रूपमा वन पैदावार उत्खनन गरी राजस्व चुहावट गर्ने मुख्य कसुरदारहरूसँगको मिलेमतोमा गैरकानुनी लाभ लिने-दिने कार्यमा सहयोग पुर्याएको पुष्टि भएपछि उनलाई मतियारका रूपमा मुद्दा चलाइएको हो।
रसुवा कन्स्ट्रक्सनले बागमती नगरपालिकासँग सम्झौता गरी खरिद गरेको ३ हजार घनमिटरको हुन आउने ९ लाख ५३ हजार ४९६ रुपैयाँ ९० पैसा बिगो कायम गरिएको छ। अख्तियारले उनलाई मुख्य कसुरदार सरह सजायको मागदाबी गर्दै कैद, बिगो जफत र चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुनुपर्ने दाबीसहित विशेष अदालतमा आरोपपत्र दर्ता गराएको छ।