सोसल मिडिया
युनिकोड
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित भएको छ।
सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल उपस्थित भएनन्। मन्त्री नभएपछि बैठक स्थगित गरिएको हो।
भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका सम्बन्धमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो।
त्यस्तै, मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिका विषयमा समेत छलफल गर्ने कार्यसूची थियो। बैठकका लागि शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई समेत बोलाइएको थियो।
शिक्षा समितिको बैठक सुरु भएपछि मन्त्री पोखरेलले आफू अस्वस्थ रहेको जानकारी गराएका थिए। मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गरिन्।
बाढी प्रभावित क्षेत्रमा शिक्षा क्षेत्रका संरचना तथा शैक्षिक गतिविधिमा परेको असर, विद्यार्थी र शिक्षकको अवस्था तथा राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि मन्त्रालयले गरिरहेका कामबारे समितिले मन्त्री र सचिवसँग जानकारी लिन बैठक बोलाएको थियो।