गगन थापाले फ्याँकेको चारो देउवा कांग्रेसले नटिप्ने, महाधिवेशनको काम रोक्दै नरोक्ने 

सोमबार, भदौ २९, २०८३

१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुलाई विशेष महाधिवेशनबाट निर्वाचित सरह मान्यता दिने कांग्रेस संस्थापन पक्षको निर्णय इतर समूहले अस्वीकार गर्ने भएको छ।

आइतबार बसेको कार्यसम्पादन समितिले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई पनि विशेष महाधिवेशनबाट निर्वाचित उत्तिकै मान्यता दिने निर्णय गरेको थियो।

निर्णयबारे छलफल गर्न सोमबार बिहान पूर्वसभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बसेको उक्त समूहको बैठकले संस्थापनको प्रस्तावलाई अस्वीकार गरेर अघि बढ्ने निर्णय गरेको नेता प्रकाशशरण महतले जानकारी दिए।

उनले असोज ३ र ४ गतको वडा अधिवेशनमा सहभागी भए केन्द्रीय सदस्यको हैसियत दिन्छौँ भन्ने निर्णय हास्यास्पद भएको टिप्पणी गरे। सँगै देउवा पक्षले आफूले मंसिरका लागि घोषणा गरेको महाधिवेशनलाई अघि बढाउने निष्कर्ष निकालेको छ।

महतले भने, ‘हामी अघि बढ्छौँ। वडा अधिवेशनमा सहभागी भए केन्द्रीय सदस्य सरहको मान्यता दिने रे, यस्तो हास्यास्पद कुरा पनि हुन्छ?’ बैठकको निर्णय दिउँसो ४ बजे सम्पर्क कार्यालय भक्तपुरको चुनदेवीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने इतर पक्षको सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए।

गत पुसमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गरेपछि कांग्रेसमा आन्तरिक विवाद बढ्दै गएको छ।

दुवै पक्षले सामान्तर गतिविधि अघि बढाएका छन्। संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन सुरु गरेर १६ देखि १९ गतेसम्म खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने निर्णय तयारी तीव्र पारेको छ।

उता इतर पक्षले पनि १५औँ महाधिवेशन आउँदो मंसिर २१ देखि २३ गतेसम्म गर्ने निर्णय गरेको छ। यो समूहले असोज १५ गते वडा अविधेशन थाल्ने कार्यतालिका तय गरेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १३:५५
प्रतिक्रिया दिनुहोस्