नाफा र घाटाको गणितमा रन्थनिएर राजीनामा दिने कर्मचारीको संख्या बढ्यो

शुक्रबार, भदौ २६, २०८३

निजामती विधेयकमा ३०-५५ को व्यवस्था दायाँबाँया नहुने संकेत देखेपछि त्यसको छर्रा लाग्ने कर्मचारीले धमाधम राजीनामा दिंदै घर जान लागेका छन्। ३० वर्ष बढीको पेन्सनको मायाले राजिनामा दिने कर्मचारी पनि उत्तिकै छन्। 

यो बिचमा धेरै चाँही उपसचिव तहका कर्मचारीले राजीनामा दिएको रेकर्ड छ। हुन त तह तहका कर्मचारीले राजीनामा दिने लहर नै चलेको छ।  सचिवदेखि अधिकृत सम्मका राजीनामा दिने कर्मचारीको संख्या दिनहुँ बढ्दो छ। 

पछिल्ला दिनमा दुई जिल्लाका सिडिओले एकै दिन राजीनामा दिए। अहिले ती दुवै जिल्लामा नयाँ सिडिओ पुगिसकेका छन्। राजीनामा दिएका सहसचिव शिवराम गेलालले झापाको सिडिओ हुँदै राजीनामा दिएका थिए।  उनले सरुवा छल्न र ३० वर्ष बढीको पेन्सन जोगाउन राजीनामा दिएको चर्चा छ। अहिले झापामा श्रवणकुमार पोखरेल सिडिओ छन्। 

त्यस्तै दोलखामा सिडिओ भएकै बेला अर्का सहसचिव हरिप्रसाद घिमिरेले राजीनामा दिएपछि त्यहाँ अर्को सिडिओ पठाइएको छ। गेलाल ५८ वर्ष पूरा भएर माघ १२ र घिमिरे मंसिर १४ गते अनिवार्य अवकाशमा जाँदै थिए।

३० वर्ष बढीको पेन्सन जोगाउन ४ सहसचिव एकसाथ राजीनामा दिएर हिँडेका छन्। सहसचिव शिवराम गेलाल, हरिप्रसाद घिमिरे, खिमबहादुर रायामाझी र प्रदिपराज अधिकारी राजीनामा दिएर हिँडेका हुन्। ३८/३९ वर्ष सेवा अवधि भएका गेलाल र घिमिरे ३० वर्ष बढीको पेन्सन जोगाउन राजीनामा दिएर हिँडेका हुन्। 

लुम्बिनी प्रदेशको लोक सेवा आयोगका सचिव  खिमबहादुर रायामाझीले पनि राजीनामा दिएका छन्। उनी पुस ८ गते ५८ वर्ष उमेर पुरा गरेर घर जाँदै थिए। तर उनले चार महिना पहिल्यै बाटो तताएका छन्। यता, आदिवासी जनजाति आयोगका सचिव प्रदिपराज अधिकारीले ४८ वर्षमै निजामती सेवा छोड्ने निर्णय गरेर राजीनामा दिईसकेका छन्। अझै आधा दर्जन सहसचिव भदौ भित्रैमा राजीनामा दिएर घर फर्कने मुडमा रहेको अर्का एक सहसचिवले बताएका छन्। 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १०:३५
प्रतिक्रिया दिनुहोस्