सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपछि सिर्जित परिस्थितिका साथै खोज, उद्धार, राहत वितरण र उपचारलगायतका विषयमा विस्तृत जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग छलफल थालेका हुन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बुधबार नै छलफल गर्ने कार्यक्रम रहेको छ।
छलफलमा बाढीपछि जारी खोज तथा उद्धार अभियानको अवस्था, राहत तथा उपचारको व्यवस्थापन र आगामी दिनमा चाल्नुपर्ने आवश्यक कदमबारे सुरक्षा प्रमुखहरूबाट ब्रिफिङ लिने तथा आवश्यक निर्देशन दिने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यसैबीच गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ मौज्दात छ। यस्तै, दुईवटा वाणिज्य बैंकमा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको छ।
बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
बाढीपछि सरकारले राहत र पुनर्स्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेसँगै स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला भएको हो।