जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिंदै वसन्त चौधरीले लेखे यस्तो

बुधबार, भदौ २४, २०८३

प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष भएको हिंसात्मक घटनाका क्रममा आफ्नो ५० वर्ष पुरानो पुर्ख्यौली घर र जीवनभरका अमूल्य साहित्यिक पाण्डुलिपिहरू गुमाउनुपरेको अनुभूति साझा गरेका छन्।

आन्दोलनका नाममा भएको आगजनीको एक वर्ष पूरा भएको सन्दर्भमा सामाजिक सञ्जालमार्फत आफ्ना भग्नावशेष र साविकको घरका दुई तस्वीर सार्वजनिक गर्दै उनले भौतिक संरचना ध्वस्त भए पनि आफ्नो इतिहास र विरासत नलड्ने बताएका हुन्।

बुबाले करिब पाँच दशकअघि ठूलो मिहिनेतका साथ निर्माण गरेको घर आँखाअगाडि नै खरानी भएको स्मरण गर्दै चौधरीले त्यो केवल इँटा र सिमेन्टको ढाँचा मात्र नभई पारिवारिक संस्कार, पहिचान र कैयौँ पुस्ताको इतिहास भएको उल्लेख गरेका छन्।

“घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो,” उनले भनेका छन्, “पाँच दशकको साधनामा प्राप्त सम्मान, विभूषणका चिनो र प्रकाशनको पर्खाइमा रहेका अमूल्य पाण्डुलिपिहरू मेरै अगाडि अक्षर-अक्षर भएर जले।”

वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उड्दा असहाय बनेर हेर्नुको विकल्प नरहेको बताउँदै उनले सोही भग्नावशेषमा उभिएर हरेक वर्ष सोही दिन उक्त भूमिमा आई जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिने प्रण गरेको सुनाए।

हिंसा र विध्वंसको आगोले संरचना ढाले पनि मनभित्र कुँदिएका स्मृति र विरासतलाई खरानी बनाउन नसक्ने चौधरीको दृढता छ। “विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन,” उनले भनेका छन्, “अन्तस्करणमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्।”

यस्तो छ उनको स्टाटस

घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…

आजभन्दा ठीक एक वर्षअघि, परिवर्तनका नाममा सल्केको हिंसाको डढेलोले देशलाई लपेट्दै लग्यो। देशभरिका कैयौँ भौतिक संरचनासँगै हाम्रा बुबाले करिब पचास वर्षअघि, अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गर्नुभएको त्यो पुर्खौली घर मेरै आँखाअगाडि खरानी भयो।

त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।

त्यो दिन घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो। त्यो मेरो साहित्यिक यात्राको मौन साक्षी, मेरो सिर्जनात्मक ऊर्जाको स्रोत र मेरा एकान्तहरूको सबैभन्दा आत्मीय साथी थियो।

पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू त खरानी भए नै, प्रकाशनको पर्खाइमा रहेका कैयौँ अमूल्य पाण्डुलिपिहरू पनि मेरै अगाडि अक्षर-अक्षर गरेर जले। आफ्ना वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उडेको हेर्नुबाहेक म असहायसँग अर्को कुनै विकल्प थिएन।

त्यही भग्नावशेषको बीचमा उभिएर मैले मनमनै एउटा प्रण गरेको थिएँ– "हरेक वर्ष आजकै दिन, यसै भूमिमा आएर आफ्ना जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिनेछु।"

यी दुवै तस्वीर एकै ठाउँका हुन्। एउटा हिजोको अतीत, अर्को आजको वर्तमान। अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ।

विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन। किनभने, अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्!
 

प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३  १०:२९
प्रतिक्रिया दिनुहोस्