सोसल मिडिया
युनिकोड
विपद् प्रभावित होटल तथा पर्यटन व्यवसायको पुनरुत्थानका लागि होटल व्यवसायी महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
महासंघको प्रतिनिधि मण्डलले मन्त्रालयमा पुगेर ज्ञापनपत्र बुझाएको हो ।
रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनर्स्थापना, पुनरुत्थान तथा पर्यटन प्रवर्द्धनका लागि होटल व्यवसायी महासंघ, नेपाल (HPFN) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ११ बुँदे ज्ञापनपत्र बुझाएको हो।
महासंघका अध्यक्ष टी. आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूलाई प्रत्यक्ष भेट गरी प्रभावित क्षेत्रका व्यवसायीहरूको वास्तविक अवस्था, उनीहरूले भोगिरहेको आर्थिक तथा भौतिक संकट र तत्काल राज्यबाट आवश्यक सहयोगका विषयमा विस्तृत रूपमा ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिमण्डलमा होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय तथा बागमती प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित क्षेत्रका होटल व्यवसायी तथा प्रत्यक्ष रूपमा प्रभावित पीडित परिवारका प्रतिनिधिसमेत सहभागी थिए। यसमार्फत प्रभावित क्षेत्रको अवस्था कागजी विवरणमा मात्र नभई स्थलगत अनुभव र पीडितहरूको प्रत्यक्ष आवाजसहित सरकारसमक्ष प्रस्तुत गरिएको महासंघले जनाएको छ । ज्ञापनपत्रमा रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित क्षेत्रमा होटल तथा रेस्टुरेन्टका भवन, संरचना, फर्निचर, भान्साका उपकरण, विद्युतीय सामग्री, मेसिनरी, खाद्यान्न तथा अन्य व्यावसायिक सामग्रीमा भएको क्षतिका साथै कतिपय व्यवसायीहरूको घरजग्गा तथा निजी सम्पत्तिसमेत गम्भीर रूपमा क्षतिग्रस्त भएको अवस्थालाई समेटिएको छ।
व्यवसाय सञ्चालन ठप्प भएको अवस्थामा बैंकको सावाँ–ब्याज, घरभाडा, कर्मचारी खर्च, कर तथा अन्य वित्तीय दायित्व निरन्तर रहँदा प्रभावित व्यवसायीहरू थप गम्भीर आर्थिक संकटमा परेको महासंघको भनाइ छ। कतिपय व्यवसायीहरू व्यवसाय बन्द गर्नुपर्ने तथा विस्थापित हुनुपर्ने अवस्थामा पुगेकाले अबको आवश्यकता केवल तत्कालीन राहत नभई व्यवसायलाई पुनः उभ्याउने र स्थानीय पर्यटन अर्थतन्त्रलाई पुनर्जीवित गर्ने पुनरुत्थान कार्यक्रम रहेको महासंघले स्पष्ट पारेको छ।
११ बुँदे ज्ञापनपत्रमा के छ ?
महासंघले सरकारसमक्ष प्रस्तुत गरेको ज्ञापनपत्रमा प्रभावित व्यवसायको विस्तृत क्षति मूल्याङ्कन तथा आधिकारिक अभिलेख निर्माण, सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, बैंक ऋणको Rescheduling/Restructuring, पूर्ण क्षति भएका व्यवसायीका लागि विशेष ऋण राहत, रोजगारी पुनर्स्थापना, विस्थापित व्यवसायीका लागि सुरक्षित स्थानमा दीर्घकालीन लिज, बीमा दाबीको फास्ट–ट्र्याक व्यवस्था, कर तथा नवीकरण शुल्कमा छुटलगायतका विषय समेटेको छ।
महासंघले प्रभावित क्षेत्रका होटल तथा पर्यटन व्यवसायलाई Recovery, Rehabilitation and Restart को अवधारणाअनुसार पुनः सञ्चालनमा ल्याउन स्पष्ट, समयबद्ध तथा कार्यान्वयनयोग्य विशेष कार्यक्रम आवश्यक रहेको जनाएको छ।
साथै, रसुवाको गोसाइँकुण्ड, लाङटाङ लगायतका प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटन क्षेत्र, चीनसँग जोडिएको अन्तर्राष्ट्रिय नाका तथा भविष्यमा विकसित हुन सक्ने कैलाश–मानसरोवर पर्यटन सम्भावनालाई दृष्टिगत गर्दै “रसुवा पर्यटन पुनरुत्थान तथा प्रवर्द्धन विशेष कार्यक्रम” सञ्चालन गर्न महासंघले माग गरेको छ।
मित्रराष्ट्रसँगको सम्बन्धलाई पर्यटन विकाससँग जोड्नुपर्ने
महासंघले रसुवाको भौगोलिक तथा रणनीतिक महत्त्वलाई दृष्टिगत गर्दै मित्रराष्ट्रसँगको सम्बन्ध र नेपालको परराष्ट्र नीतिलाई पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाउनुपर्नेमा समेत जोड दिएको छ।
परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रबीच समन्वय गरी सीमा क्षेत्रको पूर्वाधार विकास, पर्यटकीय आवागमन सहजीकरण, द्विपक्षीय पर्यटन सहकार्य, गन्तव्यको संयुक्त प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका कार्यक्रम अघि बढाउन सके रसुवा लगायत उत्तरी सीमावर्ती क्षेत्रको पर्यटन व्यवसायलाई छोटो समयमै पुनरुत्थान गर्दै द्रुत आर्थिक वृद्धि (Fast Growth) तर्फ लैजान सकिने महासंघको धारणा छ ।
यसका लागि पर्यटन मन्त्रालयको नेतृत्वमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार र निजी क्षेत्रको सहभागितामा Tourism Recovery Task Force गठन गरी स्पष्ट कार्ययोजना, जिम्मेवारी, स्रोत व्यवस्थापन तथा समयसीमा निर्धारण गर्न समेत महासंघले माग गरेको छ।
────────
संकटमा होटल व्यवसायी महासंघ : व्यवसायसँगै सामाजिक उत्तरदायित्व
होटल व्यवसायी महासंघ, नेपाल (HPFN) नेपालको होटल तथा आतिथ्य क्षेत्रका साना, मझौला तथा ठूला होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूलाई एउटै संस्थागत छातामुनि जोड्ने प्रतिनिधिमूलक संस्था हो।
महासंघले आफ्ना सदस्य व्यवसायीहरूको व्यावसायिक हकहितका साथै राष्ट्रिय संकट, प्राकृतिक विपत्ति तथा मानवीय कठिनाइका समयमा सामाजिक उत्तरदायित्वलाई समेत आफ्नो संस्थागत भूमिकाको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको छ।
कोभिड–१९ देखि आजसम्म निरन्तर मानवीय भूमिका
कोभिड–१९ महामारीका समयमा होटल व्यवसायीहरूले आफ्ना होटलहरूलाई क्वारेन्टाइन तथा आइसोलेसन प्रयोजनका लागि उपलब्ध गराई राज्यको संकट व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग गरेका थिए । स्वास्थ्य सुरक्षाको उच्च जोखिमका बीच पनि होटल व्यवसायीहरूले निजी क्षेत्रबाट राज्यलाई सहयोग गर्ने जिम्मेवार भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी, विभिन्न दुर्घटना तथा मानवीय संकटका समयमा महासंघसँग आबद्ध होटल व्यवसायी संस्थाहरूले सहयोग गर्दै आएका छन् ।
चितवनमा भएको ठूलो सवारी दुर्घटनापछि मृतकका शव तथा पहिचान/व्यवस्थापनका लागि चितवन पुगेका आफन्तजन तथा सम्बन्धित व्यक्तिहरूलाई होटल व्यवसायी संघ चितवनसँग आबद्ध व्यवसायीहरूले निःशुल्क खाना तथा बसोबासको व्यवस्था गरी मानवीय सहयोग गरेका थिए।
त्यस्तै, काठमाडौंको बालाजु क्षेत्रलगायतका स्थानमा विपन्न तथा विस्थापित समुदायको उद्धार तथा सहयोगका क्रममा पनि महासंघसँग आबद्ध स्थानीय होटल व्यवसायी संस्थाहरूले आफ्नो क्षमताअनुसार खाना, बसोबास तथा अन्य आवश्यक सहयोग उपलब्ध गराएका थिए।
हाल रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवार, व्यवसायी तथा समुदायका लागि पनि महासंघले आफ्नो संस्थागत संयन्त्रमार्फत सहयोग, समन्वय र आवश्यकताको पहिचानलाई निरन्तरता दिइरहेको छ।
विशेषगरी चितवन होटल व्यवसायी संघले प्रभावित परिवार, मृतकका शव खोजी तथा पहिचानका लागि चितवन आउने आफन्तजन र सम्बन्धित व्यक्तिहरूका लागि आवश्यकताअनुसार निःशुल्क खाना तथा बसोबासको व्यवस्था गर्दै आएको महासंघले जनाएको छ।
यसले होटल व्यवसाय केवल व्यापारिक प्रतिष्ठान मात्र नभई संकटको समयमा समाज र राज्यको सहयोगी संरचना बन्न सक्ने क्षेत्र हो भन्ने तथ्यलाई पुनः प्रमाणित गरेको महासंघको धारणा छ।
आवश्यक परे विदेशी पर्यटकलाई समेत निःशुल्क मानवीय सहयोग
हालको प्राकृतिक प्रकोपका कारण कुनै विदेशी पर्यटक प्रभावित हुने, बाटोमा अलपत्र पर्ने वा तत्काल सुरक्षित बसोबास तथा खानाको आवश्यकता पर्ने अवस्था सिर्जना भएमा नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक ठानेमा होटल व्यवसायी महासंघ, नेपालले काठमाडौंमा रहेका आफ्ना आबद्ध होटल तथा व्यवसायी संस्थामार्फत मानवीय आधारमा आवश्यक खाना तथा बसोबासको सुविधा उपलब्ध गराउन समेत तयार रहेको जनाएको छ।
नेपालमा आउने प्रत्येक पर्यटक नेपालको पर्यटन उद्योगको मात्र होइन, नेपालको आतिथ्य, संस्कृति र मानवीय व्यवहारको अतिथि भएको महासंघको मान्यता छ। संकटको अवस्थामा स्वदेशी नागरिक मात्र नभई नेपालमा रहेका विदेशी पर्यटकलाई समेत आवश्यक सहयोग उपलब्ध गराउनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको महासंघले जनाएको छ।
यो एउटा जिल्लाको क्षति होइन, समग्र नेपालको पर्यटनको क्षति हो
महासंघका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन वा अन्य कुनै प्रभावित क्षेत्रको समस्या सम्बन्धित जिल्लाको मात्र विषय होइन।
एउटा पर्यटन गन्तव्यमा आएको क्षतिले होटल व्यवसायी, कर्मचारी, स्थानीय उत्पादन, रोजगारी, पर्यटन पूर्वाधार, पर्यटकीय आवागमन र अन्ततः नेपालको समग्र पर्यटन अर्थतन्त्रलाई प्रभावित गर्दछ।
त्यसैले प्रभावित क्षेत्रको पुनर्स्थापना केवल केही व्यवसायीलाई राहत दिने विषयका रूपमा नभई राष्ट्रिय पर्यटन अर्थतन्त्रको पुनरुत्थानका रूपमा अघि बढाउनुपर्ने महासंघको स्पष्ट धारणा छ।
विशेषगरी रसुवाजस्तो प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा अन्तर्राष्ट्रिय सीमासँग जोडिएको महत्वपूर्ण पर्यटन क्षेत्रलाई वर्तमान चुनौतीसँगै नयाँ पर्यटन विकासको अवसरका रूपमा समेत उपयोग गर्नुपर्ने महासंघले जनाएको छ।
महासंघको आगामी प्रतिबद्धता
होटल व्यवसायी महासंघ, नेपालले आफ्नो संस्थागत भूमिकालाई केवल व्यवसायीका समस्या उठाउने र सरकारसमक्ष माग राख्ने संस्थाका रूपमा मात्र सीमित नराखी पर्यटन गन्तव्य, व्यवसायी, श्रमिक, स्थानीय समुदाय तथा पर्यटकको सुरक्षा र हितसँग जोडिएको व्यापक सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
महासंघले प्रभावित क्षेत्रका व्यवसायीहरूको तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापना, पुनरुत्थान र पर्यटन प्रवर्द्धनसम्मका विषयलाई आगामी दिनमा पनि निरन्तर रूपमा सरकार, पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश तथा स्थानीय सरकार, वित्तीय तथा बीमा क्षेत्र र अन्य सम्बन्धित निकायसमक्ष उठाउने जनाएको छ।
महासंघले संकटको समयमा व्यवसायीको साथमा उभिने, प्रभावित क्षेत्रको पुनर्स्थापनामा सहकार्य गर्ने तथा नेपालको पर्यटन क्षेत्रको संरक्षण, संवर्द्धन, प्रवर्द्धन र दिगो विकासका लागि संगठित निजी क्षेत्रको जिम्मेवार साझेदारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
“संकटमा साथ, पुनर्स्थापनामा सहकार्य र पर्यटन विकासमा नेतृत्व” भन्ने मूल भावनाका साथ होटल व्यवसायी महासंघ, नेपाल प्रभावित व्यवसायी, श्रमिक, स्थानीय समुदाय र पर्यटकको हितमा आफ्नो संस्थागत अभियानलाई निरन्तर अगाडि बढाउनेछ।
होटल व्यवसायी महासंघ, नेपाल (HPFN) काठमाडौं, नेपाल