सोसल मिडिया
युनिकोड
विद्यमान निजामती सेवा ऐन, २०४९ अनुसार सचिव पदमा नियुक्त कर्मचारीको कुल कार्यकालावधि (पदावधि) ५ वर्ष सम्म रहन्छ। यो ५ वर्षको कार्यकालमा उनीहरू विभिन्न मन्त्रालय वा निकायहरूमा पटक-पटक सरुवा भइरहन्छन्। तर सचिव बढुवा भए यताको तीस महिना सम्म पनि एक जना सचिवले साविकको कुर्सी छोड्नु परेको छैन।
मंसिर १३, २०८० मा बसेको मन्त्रीपरिषद् बैठकले तत्कालिन सहसचिव सरिता दवाडीलाई सचिवमा बढुवा गरेको थियो। दवाडीलाई सचिवमा बढुवा गरी शिक्षा सचिव बनाउने निर्णय भएको थियो। त्यसपछि उनको जल तथा उर्जा आयोगमा सरुवा भयो। आयोगमा केही महिना जसोतसो अडिएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएपछि फेरि दवाडीको कतैं सरुवा भएकै छैन।
दवाडी २०८० चैतदेखि नेपालको ‘आकर्षक’ मानिने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय हाँकिरहेकी छिन् । पहिले दुई सचिवको दरबन्दी रहेको मन्त्रालयमा दवाडी सिंचाई तर्फको सचिव थिईन। अहिले एक जना मात्र सचिव भएपछि दवाडीको एकलौटीमा सिंगो मन्त्रालयको प्रशासनिक नेतृत्व चलिरहेको छ।
सबै भन्दा कान्छी सचिवको रेकर्ड राखेकी दवाडीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय बाहेक आज सम्म काम गर्नु परेकै छैन। अहिले त झन् मन्त्रालयको ३०/३२ अर्ब बजेट परिचालन उनकै कमान्डमा भइरहेको छ ।
२८ वर्षको उमेरमा उपसचिवका रूपमा तत्कालीन सिंचाइ मन्त्रालय प्रवेश गरेकी उनले अहिलेसम्म यो मन्त्रालय छाड्नु परेको छैन। मन्त्रालयमै जमेर रत्तिएकी दवाडीलाई सरकारले आजका मिति सम्म सरुवा सम्म गर्न सकेको छैन। दवाडीले एकै मन्त्रालयमा जरा गाडेर बसिरहँदा अन्य सचिवले भने आधा दर्जन पटक सरुवाको पत्र बुझ्दै मन्त्रालय र आयोग चाहर्दै हिड्नु परेको छ।
हुन त दवाडीमा मात्र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सचिव बन्ने विशेष क्षमता भएकी भने होइनन्, तर अवस्था हेर्दा उक्त मन्त्रालयको सचिव बन्ने वान्छनीय योग्यता अरू सचिवमा नभएरै उनलाई मात्रै किस्तीमा राखेर सधैका लागि थमाईएको हो कि जस्तो देखिएको छ। यदि त्यसो हुँदैनथ्यो भने त्यहाँ अरू सचिव पनि पुग्न सक्त्ने अवस्था हुन्थ्यो। सुशासनको नारामा चर्किएको जनजी आन्दोलनले जन्माएको शक्तिशाली सरकारले पनि यस्ता विषय अनदेखा गर्नु उदेक लाग्दो भएको मन्त्रालयकै एक सहसचिवले टिप्पणी गरेका छन्।
लमजुङ बिचौरमा २९ असार २०३८ मा जन्मिएकी दवाडी ४२ वर्षकै उमेरमा सचिव भएर नयाँ रेकर्ड राखेकी हुन्। कम उमेरमा सचिव भएको रेकर्ड राखेकी उनले एकै मन्त्रालयमा सबैभन्दा धेरै वर्ष सचिव चलाएको रेकर्ड राख्ने सम्भावना पनि देखिएको छ। मौजुदा निजामती सेवा ऐनले भने यस्तो रेकर्डलाई राम्रो मान्दैन। तर, दवाडीको हकमा भने ऐन, मान्यता र परम्पराले काम नगर्ने लक्षण देखिन थालेको मन्त्रालय श्रोतको दाबी छ।
प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवमा बढुवा भएकी दवाडीले सचिव भए यता तीन मन्त्रीलाई घर पठाएर चौथो मन्त्री संग काम गरिरहेकी छन्। दीपक खड्का, कुलमान घिसिङ्ग, अनिलकुमार सिन्हा पछि अहिले विराजभक्त श्रेष्ठ संग काम गरिरहेकी छन्। अरू सचिव नै नभए जसरी एकै जनालाई मात्र लामो अवधिसम्म एकै जिम्मेवारीमा राखिरहनु पनि कुशासन हो, शक्तिशाली सरकारका प्रभावशाली मन्त्रीले ध्यान दिनु पर्ने प्रशासन क्षेत्रका जानकारहरूको तर्क छ।