उपकरण पुर्‍याउन गाह्रो भएकाले जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारमा समस्या

बिहीबार, भदौ १८, २०८३

उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले पनि जलविद्युत् परियोजनामा फसेका मानिसको उद्धारका लागि कुनै विशेष प्रविधि नचाहिने बताएका छन्। 

भदौ १० को भोटेकोसी बाढीले गरेको जनधनको क्षतिलाई लिएर बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेका घिसिङले पर्याप्त उपकरण घटनास्थलमा पुर्‍याएर उद्धार प्रभावकारी बनाउनुपर्ने बताएका हुन्। 

उज्यालो नेपाल पार्टीका पदाधिकारीलाई साथै लिएर प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगेका घिसिङले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारलाई सुझावसमेत दिएको बताए। केही दिनअघि बाढी प्रभावित क्षेत्र पुगेका घिसिङले बाढीग्रस्त क्षेत्रमा आफूले भोगेका र देखेका समस्या समाधानका उपाय प्रधानमन्त्री शाहलाई सुझाएको बताएका छन्। 

प्रधानमन्त्री शाहले घिसिङसँग जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका मानिसको उद्धार सम्बन्धमा विशेष चासो राखेका थिए।

‘मुख्यगरी जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने भन्नेबारे उहाँको जिज्ञासा र चासो थियो। त्यसबारे हामीले बुझेका र गर्नुपर्ने कामहरू उहाँसमक्ष राखेका छौं,’ घिसिङले भने, ‘जस्तोसुकै काम गर्नुपरे पनि सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै स्रोत परिचालन गर्ने उहाँले भन्नु भएको छ।’

प्रधानमन्त्री शाहले देशभित्र भएका स्रोतसाधनले नपुगे विदेशबाट भए पनि झिकाएर सुरुङ उद्धारलाई प्रभावकारी बनाउने बताएको उनले जानकारी दिए। 

बुधबार संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री शाहले सुरुङ उद्धारका लागि कुनै प्रविधि नभएको भन्दै दिएको प्रतिक्रियालाई घिसिङ पनि सहमत देखिएका छन्। 

‘विशेष प्रविधि भन्ने त केही पनि हुँदैन। कामैले गर्ने हो। हामीले घटनास्थलमा आवश्यक उपकरणहरू लैजानुपर्‍यो। उद्धार टोली हुनुपर्‍यो। टिमले मात्रै नपुग्ने भएकाले पर्याप्त उपकरण पुग्नुपर्‍यो। मुख्य समस्या भनेकै त्यहाँ उपकरण पुर्‍याउन गाह्रो भएकाले हो,’ घिसिङले भने।

उनले पर्याप्त उपकरण त्यहाँ पुर्‍याएर सुरुङमा जमेको गेग्रान, ढुंगा हटाएर उद्धार प्रभावकारी हुने बताए। यसका लागि कुनै विशेष प्रविधि नचाहिने घिसिङको भनाइ थियो। 
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १३:४२
प्रतिक्रिया दिनुहोस्