सोसल मिडिया
युनिकोड
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीपछिको विपद् व्यवस्थापनका सन्दर्भमा चासो राखेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा आफन्तको अनुमति नलिइएको विषयप्रति गम्भीर आपत्ति जनाए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आइतबार आयोजित छलफल कार्यक्रममा बोल्दै नेता आङदेम्बेले शव व्यवस्थापनको संवेदनशीलतालाई ध्यान नदिइएको गुनासो आएको बताए।
‘शव व्यवस्थापन गर्दा आफन्तको अनुमति नलिएको विषय पनि गम्भीर रूपमा उठेको छ,’ उनले भने।
भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा बाढीपछि फैलिएको दुर्गन्ध जनस्वास्थ्यका लागि ठूलो चुनौती बनेको उनले उल्लेख गरे। यस विषयमा आफूले प्रधानमन्त्री वालेन्द्र शाहको समेत ध्यानाकर्षण गराइसकेको उनले जानकारी दिए।
‘भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा फैलिएको दुर्गन्ध पनि हाम्रो लागि ठूलो चुनौती बनेको छ। यी विषयमा मैले हिजो प्रधानमन्त्रीसँग पनि कुरा गरेको छु’ उनले भने।
स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँगको समन्वय तथा सुझावका आधारमा नेता आङदेम्बेले प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए। विपद्पछिको राहत, पुनःस्थापना र दीर्घकालीन व्यवस्थापनका लागि पार्टीले सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ।