सोसल मिडिया
युनिकोड
रसुवा बाढीमा घाइते भएका तीन महिनाको बच्चासहित १४ जनालाई हेलिकप्टरबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
बुधबार बिहान भोटेकोसी नदीमा आएको बाढीले जनधनको क्षति गरेको छ। अहिलेसम्म सात जनाको शव भेटिएको छ भने कयौं घाइते भएका छन्।
घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौँ ल्याउन थालिएको छ। उनीहरूमध्ये १४ जनालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसायाले जानकारी दिए।
‘अहिलेसम्म १४ जना घाइतेलाई ल्याइएको छ। उनीहरूमध्ये एक जना तीन वर्षको बच्चा रहेको छ,’ रोसायाले भने, ‘एक जनको अवस्था गम्भीर छ, आईसीयूमा राखेर उपचार भइरहेको छ।’
त्यस्तै, तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ। तीनै जना नुवाकोटका रहेका छन्। घाइते तीन जनामा दुई पुरुष र एक जना महिला रहेको ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले जानकारी दिए।
उनीहरूको पेट, हात र कम्मरमा चोट लागेको छ। तीनै जनालाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ।