सोसल मिडिया
युनिकोड
बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने तयारी गरेसँगै राप्रपाभित्रको आन्तरिक विवाद झन चर्किएको छ। सोमबार विश्वासको मत लिन लागेका थापाको पक्ष र विपक्षमा मतदान गर्न दुई समूहले फरक फरक ह्विप जारी गरेका छन्।
कारबाहीमा परेका संसदीय दलका नेता उद्धव थापा पक्षले मुख्यमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिएका छन् भने अर्को पक्ष प्रस्ताव प्रस्तुत हुँदा विपक्षमा मतदान गर्न भनेका छन्।
केन्द्रको संस्थापन पक्षको निर्देशनअनुसार आइतबार प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेकी थिइन्।
उद्धव थापा पक्षका प्रमुख सचेतक डम्बर तामाङले पनि आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्विप लगाएका छन्। बागमति प्रदेशमा राप्रपाका १२ जान सांसद छन्। जसमध्ये तीन जना विवादका बीचमा पनि मन्त्री भइसकेका छन्।
राप्रपाबाट थापा नेतृत्वको सरकारमा राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ मन्त्री भइसकेका छन्। उनीहरुसँग पार्टी केन्द्रले प्रष्टिकरण सोधेको थियो। जवाफ नदिएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरुलाई पदमुक्त गर्न निर्वाचन आयोग र मुख्यमन्त्रीलाई पत्र पठाएका छन्। उनीहरुमाथि अनुशासनको कारबाही गर्न राप्रपा अनुशासन समितिको बैठक पनि चलिरहेको छ।
बागमतिमा कांग्रेस प्रतिपक्षमा पुगेपछि नयाँ सरकार गठनका लागि राप्रपाको समर्थन अनिवार्य जस्तै देखिएको छ।
१०४ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ जना सांसद छन्। विश्वासको मतका लागि थप दुई जना सांसद आवश्यक पर्ने भएपछि दलहरुलाई राप्रपामा खेलेर बहुमत पुर्याउन लागेका हुन्।
प्रदेशसभामा कांग्रेसको ३६, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । राप्रपा विभाजित भएर पनि सरकारमा सहभागी हुन तयार भएपछि एमाले र नेकपाले नेमकिपा र हानपालाई छाडेर राप्रपाको एक समूहलाई च्यापेका हुन्।