अख्तियारमाथि सरकारले सुँड पसारेको भन्दै संसदीय समितिमा सांसद अमरेश गर्जिए

बिहीबार, भदौ ४, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियारमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्यव्यवस्था समितिमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभइ संवैधानिक निकाय भएकाले राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् । 

उनले अख्तियार आफैँ विचौलियाहरूको संरक्षण गर्ने केन्द्रजस्तो बनेको आरोप समेत लगाए । सांसद सिंहले पूर्वगृहसचिव रहेका प्रमुख आयुक्तले प्रशासनिक र संवैधानिक पदको पदीय मर्यादा तथा दायित्व छुट्याउन नसकेको टिप्पणी गरे ।

विगतमा कर्मचारीहरू कारबाहीबाट जोगिन अख्तियार जाने गरेकोमा, अहिले अनुचित लाभका लागि जाने गरेको उनले बताए । 

उनले संविधानले नै अख्तियारलाई भ्रष्टाचार र सम्पत्ति छानबिनको पूर्ण अधिकार दिएको अवस्थामा पटक–पटक नयाँ आयोग गठन गर्नुको औचित्यमाथि प्रश्न उठाए ।

राज्यकोषबाट तलब, भत्ता वा पेन्सन लिने मन्त्री, सांसद, मेयर वा प्रशासक जो–कोहीको पनि सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अख्तियारले नै प्रभावकारी रूपमा पूरा गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा अन्य सांसदहरूले पनि अख्तियारको भूमिकाप्रति प्रश्न उठाएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्