आफ्ना मन्त्रीलाई काबूमा राख्न सांसद वर्षमानले वालेन्द्रलाई दिए सुझाव

मंगलबार, भदौ २, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्न आग्रह गरेका छन्।

मंगलबारको संसद् बैठकमा आफ्नो भनाइ राख्दै उनले देशभरका विपद्‌का घटनामा मन्त्रीहरूको ध्यान नदिने तर सामान्य बिरामी हुँदा पनि सेनाका हेलिकप्टरको प्रयोग गर्नेजस्ता काम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लामा भएका विपद्‌का घटनामा प्रयाप्त उद्धार र राहतमा सरकारले ध्यान नदिएको र विवादमा प्रयोग नगरी मन्त्रीहरूको उद्धारमा लागेको भन्दै उनले राज्य सञ्चालनमाथि प्रश्न उठाए।

‘मनुसुनजन्य विवाद दिनदिनै बढेर गएको छ। जाजरकोट, रोल्पा, बागलुङलगायत जिल्लामा भएका विपद्‌का घटनामा प्रयाप्त उद्धार र पुन:स्थापनाका काम भएका छैनन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा उद्धारका लागि प्रयोग गर्ने भनि सुर्खेतमा केन्द्र बनाएर हेलिकप्टहरलगायतका सधान राखिएको छ। तर के भयो भने एकातिर विवाद छ र उद्धार गर्नुपर्ने छ तर एक जना मन्त्रीज्यू भ्रमणमा जानुहुन्छ रुघाखोकी लाग्छ। विवाद्‌को उद्धार, राहतमा प्रयोग नगरेर हेलिकप्टर मन्त्रीज्यूलाई उद्धार गरेर काठमाडौँ ल्याइन्छ। के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ। यस्तो गैर जिम्मेवार राज्य चल्न सक्छ सम्माननीय सभामुख महोदय? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु चाहन्छु र आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुहोस्। नियन्त्रण गर्नुहोस्। विवादमा काम गर्नुहोस् मेरो अनुरोध छ’, पुनले भने।

पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सुदूरपश्चिममा पुगेको समयमा बिरामी परेपछि साउन ३१ गते हेलिकप्टर प्रयोग गरेर काठमाडौँ ल्याइएको थियो।

तर उनलाई अस्पतामा राख्नुपर्ने अवस्था नभएको भन्दै घरमा आराम गर्न भनिएको थियो।

यस्तै पुनले गृहमन्त्री सुदन गुरुङको खोजी गरे। विपद्को उद्धार र राहतमा सरकारले के गरेको छ भन्दै प्रश्नसमेत सोधे। आज ग्यासमा लाइन, मलमा लाइन, पासपोर्टमा लाइन रहेको भन्दै कहाँ कहाँ लाइन लाग्ने भन्दै प्रश्न गरे।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १३:३०
प्रतिक्रिया दिनुहोस्