सोसल मिडिया
युनिकोड
भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ। लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको ९१ को उमेरमा निधन भएको हो।
अस्पतालमा थप उपचार सम्भव नभएपछि उनी परिवारसँगै बस्दै आएका थिए। सोही क्रममा उनको निधन भएको उनका ज्वाइँ ज्योति वैद्यले जानकारी दिएका छन्।
धौभडेलका चार छोरीमध्ये तीन जना क्यानडामा र एक जना अमेरिकामा बसोबास गर्दै आएका छन्। नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले २०५१ माघ १८ गते उनलाई भारतका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।
प्रा. धौभडेलले संयुक्त राज्य अमेरिकाको ओरेगन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका थिए। भक्तपुर पुर्ख्यौली घर भएका उनको जन्म विसं १९९२ फागुनमा सिराहामा भएको थियो।
यता, काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ।
‘वन्दे मातरम्’ गायनसँगै सुरु भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । त्यसपछि राष्ट्रिय गान गाइएको थियो भने भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको थियो।
सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ जना कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल रु ८ करोड २० लाख बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फण्डको चेक हस्तान्तरण गर्नुभयो।
साथै, दूतावासद्वारा आयोजित ‘विकसित भारत’ चित्रकला, दौड, अन्तर–विद्यालय हाजिरीजवाफ र ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पनि सोही समारोहमा पुरस्कृत गरिएको थियो ।
शैक्षिक स्रोतहरूमा पहुँच बढाउने उद्देश्यले दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणासमेत गरेको छ।
कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र जीवन्त साँस्कृतिक प्रस्तुति दिएका थिए। समारोहमा भारतीय समुदायका सदस्य, भारतका मित्रहरू, दूतावासका अधिकारी तथा तिनका परिवारको उत्साहजनक उपस्थिति रहेको थियो।