आफ्ना पूर्व कावा अध्यक्ष समातिए पछि प्रेस काउन्सिलले कान ठाडो पार्यो

बिहीबार, साउन २८, २०८३

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले चासो व्यक्त गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्तिमा जारी गर्दै श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । 

श्रेष्ठलाई बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्नेमा जोड दिँदै काउन्सिलले सञ्चारकर्मीको कार्यशैली, व्यवहार, पेसागत मर्यादा र आचारणप्रति पनि आफू उत्तिकै सचेत रहेको स्पष्ट पारेको छ ।

प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा स्वच्छन्दता हुन नदिन पत्रकार तथा सञ्चारकर्मी सचेत हुनुपर्ने काउन्सिलको भनाइ छ । सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारितामार्फत पेसागत मर्यादा, जवाफदेहिता र उत्तरदायित्व कायम गर्नुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ ।

प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिताअनुसार कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा काउन्सिलमा उजुरी दिन सकिने व्यवस्था रहेको स्मरण गराएको छ ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध परेका उजुरी छानबिन गर्ने, आवश्यक कारबाही गर्ने तथा कतिपय अवस्थामा उजुरीकर्ता र सञ्चारमाध्यम वा पत्रकारलाई बोलाएर संवाद तथा मेलमिलाप गराउने गर्दै आएको जनाएको छ ।

आचारसंहिता उल्लङ्घन भएको अवस्थामा खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचना गर्न निर्देशन दिने, सचेत गराउने, पत्रपत्रिकाको मूल्याङ्कन तथा वर्गीकरण प्रक्रियाबाट अलग गर्ने, विभिन्न सरकारी सुविधा वा विज्ञापनबाट वञ्चित गर्न सिफारिस गर्ने तथा गम्भीर उल्लंघनका विषयमा थप कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नेसम्मका अधिकार काउन्सिलसँग रहेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझेमा सम्बन्धित सरोकारवाला पक्षलाई काउन्सिलमा उजुरी दिन आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्