सोसल मिडिया
युनिकोड
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूले विभिन्न माग राख्दै परिषद्को सानोठिमीस्थित केन्द्रीय कार्यालय घेराउ गर्ने भएका छन् ।
करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले रोजगारीको सुरक्षा, हाल कार्यरत पदमै निरन्तर काम गर्न पाउने व्यवस्था र सेवा–सुविधाको सुनिश्चिततालगायतका माग अघि सारेको छ ।
समितिले रोजगारीबाट बाहिरिएका ७४ जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दसैँ पेश्की, पोशाक, प्रशिक्षण, दुर्गम तथा स्थानीय भत्तालगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग गरेको छ । त्यस्तै, मासिक ज्यालादारी कर्मचारीलाई यथावत अवस्थामा काम गर्न दिनुपर्ने, ड्रेसलगायतका सुविधा उपलब्ध गराउनुपर्ने र उनीहरूको अवस्था एकतर्फी रूपमा परिवर्तन गर्न नहुने समितिको माग छ ।
आन्दोलनमा सहभागी भएकै आधारमा कुनै श्रमिकमाथि पूर्वाग्रह, विभेद वा प्रतिशोधपूर्ण व्यवहार नगर्नसमेत समितिले व्यवस्थापनसँग माग गरेको छ ।
श्रमिकहरूले आफ्ना मागबारे लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र स्पष्ट कार्ययोजना माग गरेका छन् । व्यवस्थापनसँग टकराव नभई संवाद र सहमतिबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको बताउँदै समितिले माग पूरा नभएसम्म खबरदारी जारी राख्ने जनाएको छ ।