मावि प्रथम श्रेणीका शिक्षक अब मासिक थाप्छन् ७४ हजार, अरु कसको कति आउँछ ?

बिहीबार, साउन २१, २०८३

सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको पनि बढाएको तलब सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूमा माध्यमिक (मावि) तह प्रथम श्रेणीका शिक्षकको तलब ग्रेडसहित ७४ हजार ९५८ पुगेको छ । सबैभन्दा कम प्राथमिक तहका दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण शिक्षकको तलब ३४ हजार ४२६ रहेको छ ।

बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब स्केलमा १० प्रतिशत र प्रोत्साहनबापत थप १० प्रतिशत गरी २१ प्रतिशत तलब वृद्धिको घोषणा गरेका थिए । जसअनुसार मावि द्वितीय श्रेणीका शिक्षकको सुरुको तलबमान ५३ हजार ६११ मा थप ८ ग्रेडको १७ सय ८७ गरी जम्मा तलब ६७ जहार ९०७ पुगेको छ भने मावि तृतीय श्रेणीका शिक्षकको सुरुको तलबमान ४८ हजार ५८ मा ८ ग्रेडको १६ सय २ गरी जम्मा तलब ६० हजार ८७४  पुगेको छ ।

त्यसैगरी निम्नमाध्यमिक तह प्रथम श्रेणीका शिक्षकको सुरुको तलबमान ५० हजार ४४८ रहेकोमा ८ ग्रेडको १६ सय ८२ सहितगरी तलब ६३ हजार ९०४ भएको छ । निम्न माध्यमिक तहको द्वितीय श्रेणीका शिक्षकको तलब ८ ग्रेडसहित बढेर ६० हजार ८७४ पुगेको छ भने तृतीय श्रेणीका शिक्षकको पनि ८ ग्रेडसहित ४८ हजार ३८४ रुपैयाँ पुगेको छ ।

प्राथमिक तहको प्रथम श्रेणीका शिक्षकको तलब ८ ग्रेडसहित जोड्दा बढेर ६० हजार ८७४ भएको छ । प्रावि द्वितीयको ८ ग्रेडसहित तलब ४८ हजार ३८७ पुगेको छ भने तृतीय श्रेणीका शिक्षकले अब ६ ग्रेडसहित ४३ हजार ४२८ रुपैयाँ तलब पाउनेछन् ।

प्राविकै दरबन्दीमा दुई विषयसम्म एसएलसी अनुत्तीर्ण शिक्षकको तलब ६ ग्रेडसहित महिनामा ३६ हजार ४४५ र दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण शिक्षकको ६ ग्रेडसहित ३४ हजार ४२६ रुपैयाँ पुगेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्